News

खाँणको निर्णय रवि लामिछानेले मानेननः गुण्डानाइके गिरीको मोरङबाट सरुवा

खाँणको निर्णय रवि लामिछानेले मानेननः गुण्डानाइके गिरीको मोरङबाट सरुवा

नेपाली कांग्रेसका नेताको दबाब र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा १ वर्षअघि मोरङ कारागार ल्याइएका गुण्डानाइके अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ । ०७८ मंसिर ९ गते मोरङ कारागार ल्याईएका गिरिलाई गृहमन्त्री रवि लामिछानेको निर्देशनमा भीमफेदी सरुवा गरिएको हो।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई सरुवा गरेर रातारात मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गर्दै कारागारभित्र अपराधको साम्राज्य खडा गरेका थिए । गिरीलाई प्रवेश गराउनुअघि पनि मोरङ कारागारको अवस्था तनावपूर्ण बनेको थियो । कैदीबन्दी गिरीको विरोधमा उत्रिएका थिए । गिरीलाई मोरङ ल्याउनका लागि चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारसहितका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको थियो । 

त्यसअघि २०७८ असोज १८ गते गिरीको सहजताका लागि चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो । गिरीकै योजना र इशारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए । 

कांग्रेसमा आवद्ध भएर राजनैतिक संरक्षणमा अपराधिक गतिविधि सञ्चालन गर्दै आएका गिरी विराटनगरकै बासिन्दा हुन् । उनलाई मोरङबाट सरुवा गरेर २०७४ साल चैत २३ गते काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । त्यसअघि मोरङ कारागारमै चौकीदार रहेका उनले कारागारभित्रबाटै गुन्डागर्दी, असुली र फिरौतीको धन्दा चलाउँदै यातना दिएर कैदीबन्दीमाथि चरम शोषण गरेको खुलेको थियो । 

सरुवा गरेर उनलाई डिल्ली बजार पु¥याएपछि भने मोरङ कारागार शान्त बन्यो । गिरीको सबै धन्दा बन्द हुँदा कैदीबन्दीले राहत महसुश गरेका थिए । पछि शेरबहादुर देउवा प्रधानमन्त्री र बालकृष्ण खाँण गृहमन्त्री बनेपछि कांग्रेस नेताकै दबाबमा उनले पुनः मोरङ आउने अवसर पाए । ०७८ साल भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएको थियो । तर, सबैतिरबाट आलोचना हुँदा र कैदीबन्दी विरोधमा उत्रदा कात्तिक १६ गते विराटनगर ल्याइएका उनले सहज रूपमा मोरङ कारागारमा प्रवेश पाएनन् । 

त्यसपछि उनलाई सप्तरी कारागार लगिएको थियो । पछि अनुकूल वातावरण तयार पार्दै मोरङ ल्याएपछि गिरीले पुरानै धन्दा चलाउन थालेको उनीनिकट स्रोतले बतायो । स्रोतका अनुसार पछिल्लो समय गिरीले विराटनगरमा अपराधिक पृष्ठभूमिका युवाको सञ्जाल विस्तार गरी मिटरब्याजको धन्दासमेत चलाइरहेका छन् ।

गिरीको मिटरब्याजको जालोमा परेका केही व्यापारीले असुरक्षाको कारण देखाउँदै विराटनगर छाडिसकेका छन् । स्रोतका अनुसार गिरीका पालामा कारागारभित्र भएको मृत्युको घटनालाई समेत सामसुम पारेर मिलाउने गरिएको थियो । २०७८ मंसिरयता मोरङ कारागारका ७ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । उनकै समूहले दिएको यातनाका कारण कैदीबन्दीको मृत्यु भएको कारागार स्रोतले बताएको छ।

मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । 

बालकृष्ण खाँण अभिषेक गिरी रवि लामिछाने

विशेष