News

उपराष्ट्रपति अस्विकार गरेकी रेखा मन्त्री बन्दा शंकर पोखरेलको संसद छिर्ने चोर बाटो बन्द

उपराष्ट्रपति अस्विकार गरेकी रेखा मन्त्री बन्दा शंकर पोखरेलको संसद छिर्ने चोर बाटो बन्द

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति बन्न गरेको आग्रह अटेर गरेकी रेखा शर्मा अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्री भएकी छिन्। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा रेखालाई मन्त्री बनाए। यसपटक मन्त्रिपरिषदमा रेखाको वरियता पनि माथि छ । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्री र ४ जना उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देनपछिको वरियतामा छिन् ।

माओवादीमा प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठपछिको वरियता रेखाकै छ। संकटकालमा कठोर यातना, जेलनेल भोग्दै मुश्किलले बचेकी नेतृ रेखा यसअघि समानुपातिक सांसद बनेर मन्त्री बनिसकेकी छिन्। मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा उनले प्रत्यक्ष चुनाव लड्ने अवसर पाइन् । सभामुख रहँदा यौन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महराले चुनावी मैदान छाडेपछि रेखाले यो अवसर प्राप्त गरेकी हुन् ।

उनले मैदानमा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गरिन् र जितिन पनि । प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको केही समयमै देशमा नयाँ राजनीतिक समीकरण बन्यो । एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउन गरेको पछिल्लो सहकार्य उनको लागि चुनौती बनेर आयो ।

ओलीका विश्वास पात्र पोखरेल हारेपछि नयाँ गठबन्धनका शीर्ष नेताहरू रेखालाई राजीनामा गराएर उपराष्ट्रपति बनाउने अनि पोखरेललाई उपनिर्वाचनमार्फत संसदमा ल्याउने खेलमा लागे । ओलीदेखि माओवादी अध्यक्ष दाहालसम्मको यो आग्रह सोमबारसम्म चल्यो, तर उनले लगातार इन्कार गरिन् ।

आफु दाङ २ का मतदाताको ठूलो भरोसा लिएर चुनाव जितेकाले अहिलेलाई त्यसभन्दा बाहिर जान सम्भव छैन भन्दै उनले जवाफ दिईन। अन्ततः उनको अडानका अगाडि ओली र दाहालको हार भयो। त्यसैले लामो संघर्ष गरेर उनी मन्त्री बन्न सफल भएको माओवादी नेताहरु वताउँछन्।

यो पनि,

शंकर पोखरेल रेखा शर्मा

विशेष