News

सम्भव छ, माओवादी, नेकपा एस र जसपाको एकिकरण ?

सम्भव छ, माओवादी, नेकपा एस र जसपाको एकिकरण ?

मंसिर ४ को निर्वाचन परिणामले प्रमुख राजनीतिक दलका नेताहरुलाई विचलित वनाएको छ। कुनै पनि दलले सोचेजस्तो परिणाम ल्याउन सकेनन्। जसका कारण नेताहरु साना पार्टीसँग एकिकरण गरेर आफनो पार्टीको साईज वढाउने प्रयासमा देखिएका छन् ।

खास गरी पार्टी एकिककरणको प्रयासमा संसदको दोस्रो ठुलो दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका नेताहरु सलवलाई रहेका छन्। खास गरी नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एससँग एकिकरणका लागि प्रयास गरिरहेको छ।

अर्कोतर्फ प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु गरेका छन् ।

वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ । पार्टी एकिकरणका लागि दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल पनि भएको छ । 

‘एकीकरणका लागि सकारात्मक वातावरण तयार भइरहेको छ’ एक नेता भन्छन्–‘सरकार गठनलगायतका कार्यमा नेताहरू व्यस्त भएको कारण त्यसमा केही ढिलाइ भएको हो मन्त्रीपरिषद् विस्तार भएपछि त्यसको विषयमा गम्भीर छलफल हुन्छ ।’ पुस १५ गते नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच पनि पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । 

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एकीकृत समाजवादी) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ । जसपका अनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो ।

त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर  माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् ।  

जसपा नेपालले पार्टी एकीकरणका लागि छलफल गर्न एउटा वार्ता समिति बनाउने पनि निर्णय गरेको छ । राजनीतिक समितिको बैठकले सो समिति बनाउने भएको छ । जसपाका प्रवक्ता मनिष सुमनले माओवादी केन्द्र, वा कुनै विशेष दलसँग एकता गर्ने भन्दा पनि जुन दलसँग विचार र मुद्दा मिल्छ त्यो दलसँग एकता वा सहकार्यका लागि छलफल गर्न समिति बनाउन लागिएको बताए ।
 

विशेष