News

चिठ्ठाले परराष्ट्रमन्त्री बनिन विमला, खेर गयो अधिकारीको दौरासुरुवाल !

चिठ्ठाले परराष्ट्रमन्त्री बनिन विमला, खेर गयो अधिकारीको दौरासुरुवाल !

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले सवैभन्दा ठुलो पार्टी हो। ठुलो दल भएकै कारण उसले उपप्रधानमन्त्रीसहित आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ।

मंगलवारको मन्त्री परिषद विस्तारमा मन्त्री वन्ने लाईनमा नेकपा एमालेबाट कपिलवस्तुबाट निर्वाचित सांसद बलराम अधिकारीको नाम सूचीमा थियो। तर, अन्तिम समयमा उनको नाम काटिएको छ।

महासचिव शंकर पोखरेल निकट उनी आज बिहान नौ बजेसम्म मन्त्रीकै सूचीमा थिए । तर,अध्यक्ष केपी शर्मा ओली, महासचिव पोखरेल र उपमहासचिव विष्णु रिमालले अन्तिममा अधिकारीको नाम काट्दै राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्याललाई मन्त्री बनाउने निर्णय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट पौडेललाई मन्त्री वनाउँदा अधिकारी चिप्लिएको एमालेका नेताहरु वताउँछन् । एमाले स्रोतका अनुसार डा. पौड्याल राष्ट्रपति भण्डारी निकट हुन् । उनलाई राष्ट्रपतिकै जोडबलमा मन्त्री बनाउन एमाले अध्यक्षसहितका नेताहरु बाध्य भएको बताइन्छ । पौडेल परराष्ट्र मन्त्री भएकी छिन् ।

आफू मन्त्री हुने पूर्ण संकेत पाएका अधिकारी भने सपथका लागि चाहिने दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यालय शीतल निवास जाने तयारीमा थिए । तर, महासचिव पोखरेलको फोन आएपछि उनी कोठामै रोकिएका छन् । 

एमाले अध्यक्षले अर्कोपटक मन्त्री बनाउने बाचा गरेर अधिकारीलाई ‘थामथुम’ पारेको स्रोत बताउँछ । पौड्यालका लागि राष्ट्रपति भण्डारीसँगको निकटता फलिफाप भएको छ। पदावधि सकिन एक वर्ष बाँकी छँदा उनले परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। 

उनलाई पाँच वर्षअघि राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभा सदस्य बनाइएको थियो। जानकारी अनुसार, नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधी सकेर आएपछि उनको एमालेसँग निकटता बढेको हो। त्यसैक्रममा एमालेले उनलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो। 

भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनी राष्ट्रपति भण्डारीका तीन निजी सचिवमध्ये एक निजी सचिवको जिम्मेवारीमा थिइन्। राष्ट्रिय योजना आयोगको सदस्य भइसकेको व्यक्ति राष्ट्रपतिको निजी सचिव बनेपछि बौद्धिक बृत्तमा उनी आलोचित पनि भएकी थिइन्।  

संविधान सभाबाट संविधान जारी भएपछि ०७४ मा पहिलो पटक बनेको राष्ट्रिय सभाको निर्माण भयो। त्यसक्रममा चिठ्ठा प्रणालीबाट राष्ट्रिय सभाका सदस्यहरुको पदावधि निर्धारण गरिएको थियो। चिठ्ठा प्रणालीबाट पहिलो चरणका राष्ट्रिय सभा सदस्यहरुको पदावधि निर्माण गरिँदा ६ वर्षे कार्यकाल तय हुने एक तिहाई राष्ट्रिय सभा सदस्यमा उनीपनि परिन्। बाँकीमध्ये एक तिहाईको दुई वर्ष र थप एक तिहाईको चार वर्ष तय भएको थियो। 

चिठ्ठाका क्रममा ‘भाग्यमानी’ ठहरिएकी उनको कार्यकाल ६ वर्ष तय भएकै कारण परराष्ट्रजस्तो शक्तिशाली र आकर्षक मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त गरिन्। चिठ्ठाका क्रममा कार्यकाल दुई वा चार वर्ष तय भए उनलाई परराष्ट्रमन्त्री बन्ने अवसर प्राप्त हुने थिएन।

उनी नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्रमन्त्री भएकी छिन्। ०६६ मा माधव नेपाल प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ०६३ मा साहना प्रधान परराष्ट्रमन्त्री बनेका थिए।
 

विशेष