विक्रम पाण्डे मन्त्री वन्दा राप्रपामा खटपट, रविन्द्र मिश्रसहित शिर्ष नेता रुष्ट
![विक्रम पाण्डे मन्त्री वन्दा राप्रपामा खटपट, रविन्द्र मिश्रसहित शिर्ष नेता रुष्ट](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/bikram-pande.jpg)
सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री छनौटको विषयलाई लिएर राप्रपाभित्र खटपट सुरु भएको छ। खास गरी उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकासमन्त्री नियुक्त गरिएको विषयमा नेताहरु रुष्ट वनेका छन् ।
पाण्डेलाई मन्त्री बनाएको विषयमा पार्टीका अधिकांश शीर्ष नेताहरु अध्यक्ष राजेन्द्र लिङदेनसँग रुष्ट बनेका छन् । राप्रपा सरकारमा जाने भएपछि मन्त्रीहरुको नाम छनोट गर्ने अधिकार पार्टीको संसदीय दलले अध्यक्ष लिङ्देनलाई सुम्पिएको थियो । त्यसअनुसार लिङदेनले एकल निर्णयमा आफूसहित चार जना नेताको नाम छनोट गरेका थिए ।
स्वार्थको टकराव उत्पन्न हुने गरी निर्माण व्यवसायी पाण्डेलाई शहरी विकास मन्त्रालयको नेतृत्व दिइएकोमा आलोचना भइरहेको छ । ‘अध्यक्षलाई अधिकार प्रत्यायोजन गरिए पनि उहाँले सबैसँग सल्लाह गरेर निर्णय लिनुहुने अपेक्षा थियो । तर, उहाँले आफूखुशी गर्नुभयो ।’–एक नेताले भने।
राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्रीको मात्र कोटा भए पनि थुप्रै नेताहरु मन्त्री बन्न लालायित थिए । लिङदेनले उपाध्यक्षद्वय धुव्रबहादुर प्रधान र पाण्डेलाई मन्त्रीमा तथा दीपक सिंहलाई राज्यमन्त्रीमा रोजे ।
लिङदेन पक्षीय एक नेता अहिले देखिएको असन्तुष्टि आफू मन्त्री बन्न नपाउँदाको उपज भएको बताउँछन् । राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले पाण्डेको विषयमा उत्पन्न विवादको जिम्मेवारी अध्यक्ष लिङदेनले लिनुपर्ने बताए ।
पार्टीका जिम्मेवार व्यक्ति भएका हिसाबले अध्यक्षको विरुद्धमा आफूले बोल्न नमिल्ने राणाको भनाइ छ । स्रोतका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अध्यक्ष लिङदेनसँग असन्तुष्ट छन् । उनले विगतदेखि नै राजनीतिमा स्वार्थको द्वन्द्व हुन नहुने वकालत गर्दै आएका थिए । मिश्रसँग निकट महामन्त्री शरदराज पाठकले घुमाउरो रुपमा सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि प्रकट गरेका छन् ।