News

ज्युँदो शिशुलाई मृत घोषणा गरेपछि कोशी अस्पतालका डाक्टरले कुटाई खाए

ज्युँदो शिशुलाई मृत घोषणा गरेपछि कोशी अस्पतालका डाक्टरले कुटाई खाए

जिवित शिशुलाई मृत घोषण गरेपछि बुधबार विराटनगरको कोशी अस्पतालका एक डाक्टर कुटिएका छन् । 

कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर ल्याएको जीवितै नवजात शिशुलाई मृत घोषणा गरिदिएका थिए। त्यसपछि आफन्तले उनलाई कुटपिट गरेका हुन।

मोरङको जहदा गाउँपालिका–३ भात्तिगञ्जकी उमा मुखियाकी १८ दिनकी छोरीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पाल ल्याइएको थियो। डाक्टर यादवले राम्रोसँग स्वास्थ्योपचार नगरी शिशुको मृत्यु भएको घोषणा गरिदिएका थिए।

गत पुष १७ गते कोशी अस्पतालमै नर्मल डेलिभरी भएर छोरीलाई जन्माएका नवजात शिशुको तौल १ किलो चार सय ग्राम थियो। अस्पतालमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइयो। विराटनगर महानगरपालिका–८ मधुमारा माइती रहेकी मुखियाले छोरीलाई जन्म दिएपछि अस्पतालबाट निस्केर त्यहीँ बस्दै आएकी थिइन्। 

उनका श्रीमान् दिलिप मुखिया एम्बुलेन्स चालक हुन्। मुखिया कोशी अस्पताल बाहिर बस्ने गर्दछन्। छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले बुधबार बिहान ८ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लगेका थिए। 

ड्युटीमा मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी थिए। उनीहरूको ड्युटी  समय बिहान ८ देखि दिउँसो २ बजेसम्म हो। आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले स्वास्थ्य जाँच गरेका थिए। त्यसपछि उनले ‘छोरीको श्वास छैन। घर लैजानू,’ भन्दै जवाफ दिएका थिए।

त्यसपछि आकस्मिक कक्षबाहिर रुवाबासी सुरु भयो। त्यहि क्रममा शिशुले हातखुट्टा हल्लाएपछि उनी जीवितै रहेको आफन्तले बुझे। मृत घोषणा गरेको शिशु जीवित भएको बाहिरिएपछि आक्रोशित आफन्तले कोशीका डा. आकाशलाई कुटपिट गरेका छन्। 

कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ। चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले दिलीपले छोरीको उपचार विराटनगरकै  गोल्डेन अस्पतालमा गराइरहेका छन्।  

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारयण यादवले घटनाबारे बुझने काम भइरहेको बताए।

विशेष