News

विश्वप्रकाशको दावीः कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ

विश्वप्रकाशको दावीः कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले कोटामा परेको राष्ट्रपति पदमा कांग्रेसको  व्यक्ति छानिने दाबी गरेका छन्।

बुधबार सभामुखमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले राष्ट्रपति कांग्रेसकै व्यक्ति हुने दावी गरेका हुन। ‘लेखरै राख्नुस्, कांग्रेसबाट प्रस्तावित व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’– उनले भने।

अहिलेको संसद्को शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने उनको धारणा छ।

वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले हिजोको सर्वदलीय बैठकमा संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति कायम गर्ने प्रस्ताव गरेका थिए ।

यता, राष्ट्रपतिको विषयमा नेकपा एमाले पहिलादेखि नै झस्किएको छ। कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहालले धोका दिनसक्ने आशंका गरिरहेका छन् ।

त्यसमाथि राष्ट्रपति र सभामुखको विषयमा कांग्रेससँग पनि छलफल गर्ने भन्दै प्रधानमन्त्रीले मंगलवार सर्वदलिय वैठक बोलाएपछि ओलीको चिन्ता अझै थपिएको छ। मंगलवारको वैठकमा यही विषयमा ओली र कांग्रेस नेता रमेश लेखकका विचमा भनाभन समेत भएको थियो।

विशेष