News

प्रचण्डले आत्मसमर्पण गरेकै हुन ?, यस्तो छ दौरा सुरुवालको वास्तविक्ता

प्रचण्डले आत्मसमर्पण गरेकै हुन ?, यस्तो छ दौरा सुरुवालको वास्तविक्ता

राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालले एउटा टेलीभिजनमा अन्तरर्वाता दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दौरा सुरुवाल लगाएर कुनै पदको सपथ ग्रहण गरेको हेर्ने इच्छा ब्यक्त गरेका थिए ।

५ वर्षअघिको उक्त अन्तरर्वातामा उनले पुष्पकमल दाहालले दौरा सुरुवाल लगाएको दिन ‘गोर्खाली निरंकुशता स्विकारेको ठहरीने’ भन्दै उनले त्यो दिन नेपालको माओवादी क्रान्ति पुरा भएको ठहरीने भन्दै ब्यंग्य गरेका थियो। तत्कालिन नेकपा माओवादीले र एमालेसँग चुनावी तालमेल गर्नुलाई आत्मसमर्पणको रुपमा अथ्र्याएका लालले दौरा सुरुवाल लगाउनुलाई पनि आत्मसमर्पणकै निरन्तरता हुने वताएका थिए ।

‘पुष्पकमल दाहाल लवेदा सुरुवाल लगाएर, ढाका टोपी ढल्काएर, शुद्ध संस्कृतयुक्त नेपाली भाषामा कुनै पदको सपथ ग्रहण गरेको इच्छा छ’ उनले भनेका थिए–‘अनि त्यसपछि चै नेपालको माओवादी क्रान्ति पुरा भएको ठहरिन्छ।’

‘राजेन्द्र महतोले गरेको पनि हेर्न मन छ ?’ भन्ने प्रस्तोताको प्रश्नमा उनले भनेका थिए–‘छैन, कमजोरले त गर्छ। तर, जो वलियो छ त्यसले आत्मसमर्पण गर्यो भने त्यसको हेर्न चै रमाईलो हुन्छ।’ 

लालका अनुसार नेपालमा खस आर्यको परम्परा पृथ्वीनारायण शाहले काठमाण्डौंमा आक्रमण गरेदेखि नै सुरु भएको र नेपाल एकिकरणपछि सम्पुर्ण रुपमा गोर्खालीकरण भएको हो। दाहालले गोरखाली निरंकुशता स्विकार गरेको हेर्ने उनको इच्छा ठिक पाँच वर्षपछि पुरा भएको छ।

प्राय सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा हमेसा टाइ–सुट र भादगाउँले टोपी लगाउँथे। शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २ असार २०६३ मा बालुवाटारमा सार्वजनिक हुँदा दाहाल र डा. बाबुराम भट्टराई दुवैले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए ।

भदौ २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनले टाइ–सुटसँगै भादगाउँले टोपी लगाए । औपचारिक कार्यक्रमहरूमा उनले यो पोशाकलाई निरन्तरता दिँदै आएका थिए । राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको जोडकोण मिलाउन आफूले प्रायः टाइ–सुट र भादगाउँले टोपी लगाउने गरेको उनको तर्क थियो ।

२०६८ सालभन्दा पहिला दौरा सुरुवाल र गुन्युचोली नेपालको राष्ट्रिय पोसाक थियो । तर सशस्त्र विद्रोहताका माओवादीहरू दौरा सुरुवाललाई महेन्द्रीय राष्ट्रवादसँग जोड्थे । राजा–महाराजाले नेपालको विविधतापूर्ण समाजमा रहेको जातजाति र संस्कृतिमाथि एक भाषा एक भेषको नीति लादेको भन्दै माओवादी नेताहरूले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दौरा सुरुवाल लगाएनन् ।

दाहालले झै डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन् । शीर्ष नेताहरूलाई पछ्याएर माओवादीबाट मन्त्री बनेकाहरूले पनि दौरा सुरुवात लगाएनन् । तर हिजो विरोध गर्ने माओवादी नेताहरू भने क्रमशः दौरा सुरुवालतिर आकर्षित भइरहेका छन् । तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा गत पुष ११ गते भने दाहालले दौरा सुरुवाल लगाए । सेतो दौरा सुरुवालमाथि खैरो कोर्ट लगाएर राष्ट्रपति कार्यालय, शीतल निवास पुगेका उनी सपथ ग्रहण समारोहमा बारम्बार दौराको फेरो मिलाइरहेको देखिन्थे ।

उनीमात्र होईन, उपराष्ट्रपति एवम तत्कालिन माओवादी लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ, तत्कालिन नेकपा माओवादी नेतामा टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई, अग्निप्रसाद सापकोटा, तत्कालिन माओवादी नेता रामबहादु थापा बादल, नेता नारायणकाजी श्रेष्ठ, राम कार्की लगायतका नेताहरूले पनि मन्त्रीलगायतका विभिन्न पदको सपथ लिने क्रममा दौरा सुरुवाल लगाएका थिए ।

विशेष