News

प्रचण्डको मृत्युको कामना गर्ने रवि लामिछाने कसरी भए उनकै मातहतको मन्त्री ?

प्रचण्डको मृत्युको कामना गर्ने रवि लामिछाने कसरी भए उनकै मातहतको मन्त्री ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनको मन्त्रीपरिषदमा ४ उपप्रधानमन्त्री बनेका छन्। पाँच जना उपप्रधानमन्त्री बनाउने उनको तयारी छ।

मन्त्रिपरिषद्मा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादीका नारायणकाजी उपप्रधान तथा भौतिक, राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा र रास्वपाका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

चार उपप्रधानमन्त्रीमा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा बोकेर हिँडेकादेखि प्रधानमन्त्रीको मृत्युको कामना गर्नेसम्मका व्यक्ति अटाएका छन्। लिङ्देन राजतन्त्रको मुद्दा बोकेर हिँडेका नेता हुन् भने केही समयअघिसम्म दाहालको खरो आलोचक रहेका लामिछानेले  दाहाल मरेर केही नहुने भन्नेसम्मको अभिव्यक्ति दिएका थिए। 

२०५९ मा भिजिट भिसमा अमेरिका हान्निएका रवि त्यसको १० वर्षपछि नेपाल फर्किएका थिए। २०७० मा ६२ घन्टा १२ मिनेटसम्म लगातार टेलिभिजन कार्यक्रम चलाएर रेकर्ड राखेपछि उनी चर्चामा आएका थिए। पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले नेपाल टेलिभिजनमा ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रम चलाए।

तर १९ साउन २०७३ मा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछि रविलाई उक्त कार्यक्रमबाट हटाएर माओवादी निकट पत्रकार बबिन शर्मालाई जिम्मा दिइयो। त्यसयता रवि दाहालका कट्टर आलोचक थिए। त्यसपछि न्यूज २४ मा सिधा कुरा जनतासँग चलाएर आमसर्वसाधारणका मुद्दा उठाएपछि उनी ‘सेलिब्रिटी’ नै बने। सोही कार्यक्रममार्फत २०७५ चैतमा उनले टिप्पणी गरेका थिए, ‘प्रचण्ड मारिए पनि केही फरक पर्दैन।’ उक्त अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो। 

त्यसयता पनि उनी र दाहालबीच कहिल्यै सुमधुर सम्बन्ध बन्न सकेको थिएन। गत असारमा पार्टी दर्ता गराएर राजनीतिमा आएपछि उनले दाहालकै क्षेत्र चितवन ३ मा गएर चुनाव लड्ने घोषणा गरे। तर, दाहाल चुनाव लड्न गोरखा गए भने रवि चितवन २ बाट विजयी भए। उनको पार्टी छोटो समयमै राष्ट्रिय राजनीतिमा उदायो। समानुपातिकसहित देशैभरबाट २० सिट जितेको रास्वपा दाहाल नेतृत्वको सरकारमा सहभागी भयो।

उनी अहिले उपप्रधानसहित गृहमन्त्री छन्। जसको मृत्युको कामना गरे उनै मातहत मन्त्री भएर उनले देश र जनताका लागि कसरी काम गर्छन, त्यो भने चासोको विषय छ।

विशेष