News

रुपा गाउँपालिकाले पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गर्ने

रुपा गाउँपालिकाले पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गर्ने

माघ १ गते यती एयरलाइन्सको ९एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।

कास्किको रुपा गाउँपालिका–३ पोल्याङ निवासी केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गर्ने र दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय भएको छ। पाईलट केसीलाई गाउँपालिकाले ०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो ।

मङ्गलवार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय भएको अध्यक्ष नवराज ओझाले बताए।

पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको उनको भनाई छ। केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए । केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए ।

उनले ०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका थिए भने पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

माघ १ गते काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुन सकेको छैन । 

यो पनि,

यति एयरलाइन्स कमल केसी विमान दुर्घटना

विशेष