News

प्रचण्डले बोलाएको सर्वदलिय बैठकमा ओली र लेखकको चर्काचर्की

प्रचण्डले बोलाएको सर्वदलिय बैठकमा ओली र लेखकको चर्काचर्की

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताहरुबीच भनाभन भएको छ।

राष्ट्रपति, उपराष्ट्रपति र सभामुख–उपसभामुख पदको चयनमा दलहरुबीच सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि आएपछि ओली र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच चर्चाचर्की परेको हो। 

बैठकमा ओली कांग्रेससँग रुस्ट देखिएका थिए। सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपतिदेखि उपसभामुखसम्म कसले लिने भन्ने सहमति बनिसकेपछि कांग्रेसले पदको लोभ गरेको टिप्पणी ओलीले गरे। उनले कांग्रेसलाई प्रतिपक्षी दलका रुपमा उभिन नसकेको भन्दै कटाक्ष गरेका थिए।

‘हामीले गठबन्धनमा प्रदेशदेखि संघका सबै कुरामा सहमति गरिसकेका छौँ। अबको बाटोका लागि हामीबीच सहमति बनिसकेको छ’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रदेशदेखि संघसम्म गठबन्धनले विश्वासको मत लिइरहेको छ। अब तपाईंहरु सत्ता र पदका लागि नखेल्नु।’

ओलीले गत पुस १० गते नै सबै कुरामा सहमति गरिसकेको अवस्थामा कांग्रेसको दाउको अर्थ नहुने बताउँदै कांग्रेसलाई राष्ट्रपति पद दिन नसकिने अडान लिए। ‘राष्ट्रपति पद कांग्रेसलाई दिन सकिन्न’ उनले भने–‘पुस १० गते नै सहमति गरिसकेका छौँ। अब थप सहमति कसैसँग हुँदैन। कांग्रेसले पद नपाइने ढोक्सा नथाप्नु।’

ओलीको उक्त टिप्पणीलाई लिएर कांग्रेस प्रमुख सचेतक लेखक आक्रोशित भए। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कासमेत उपस्थित बैठकमा ओलीलाई जवाफ दिँदै लेखकले संविधान बचाउन विश्वासको मत दिएको बताए। 

‘प्रचण्डजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर थिएन’, उनले भने, ‘तर हामीले सत्ताका लागि खेलेका छैनौँ। संविधान बचाउन हामीले प्रचण्डलाई विश्वासको मत दिएका हौँ।’ तर लेखकले सभामुखको निर्वाचन हुनै लाग्दा आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको व्याख्या गरे। 
 

विशेष