News

कांग्रेसका चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि अन्तर्घातको आरोप, कारबाही गर्न सिफारिस

कांग्रेसका चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि अन्तर्घातको आरोप, कारबाही गर्न सिफारिस

नेपाली कांग्रेसका चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि कारबाहीको सिफारिस भएको छ। चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन कांग्रेस केन्द्रीय कार्यालयले थप एक महिना समय दिएपनि उनीहरुको नाम भने केन्द्रीय अनुशासन आयोगमा आईसकेको छ।

कांग्रेस काभ्रे जिल्ला कार्य समितिले दुई जना केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामामाथि कारबाहीको सिफारिस गरेको छ । मधु आचार्यले प्रतिनिधि सभामा गठबन्धनबाट कांग्रेस उम्मेदवार बनेका शिव हुमागाईँलाई हराउन भूमिका खेलेको आरोप छ ।

त्यस्तै गणेश लामाले जिल्ला सभापति तीर्थ लामालाई प्रदेश सभा सदस्य हराउन खोजेको आरोप छ । तीर्थ लामाले एमालेका चन्द्र लामालाई जम्मा २ मतले मात्र पराजित गरेका थिए । काभ्रे कांग्रेसले प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री कन्चनबादे श्रेष्ठमाथि पनि कारबाही सिफारिस गरेको छ ।

त्यस्तै सोलुखुम्बुमा भने कांग्रेस जिल्ला सभापति नै कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला सचिव भलाकाजी राई र युवराज घिमिरेले संयुक्त रूपमा केन्द्रीय अनुशासन आयोगमा केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गले जाङ्बु शेर्पामाथि कारबाहीको सिफारिस गरेका छन् । 
केन्द्रीय सदस्य र जिल्ला सभापतिले कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गर्न भूमिका खेलेको आरोप छ । 

त्यस्तै कपिलवस्तुमा पनि जिल्ला सभापति अब्दुल कलामसहित नेताहरूमाथि कारबाहीको सिफारिस गरिएको छ । दोलखाका कांग्रेस जिल्ला सभापति बर्मा लामाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीमाथि कारबाहीको माग गरेका छन् ।

जिल्ला कार्य समितिको समीक्षा बैठकमा उनले कारबाहीको सिफारिस गर्न लागेपछि झण्डै झडप समेत भएको थियो । लामाले शिवाकोटीमाथि अन्तर्घात गरेर आफूलाई प्रदेश सभा सदस्यमा पराजित गरेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालयले सुरुमा पुस १५ सम्मको समय दिएको थियो । सोही अवधिमै काभ्रे, सोलुखुम्बु र कपिलवस्तुबाट कारबाहीको सिफारिस आएको छ । 
 

विशेष