News

उपेन्द्रको पश्चातापः एमालेसँग चुनावी गठबन्धन गर्नु ठूलो भूल भयो

उपेन्द्रको पश्चातापः एमालेसँग चुनावी गठबन्धन गर्नु ठूलो भूल भयो

चुनाव अघि गठबन्धन छोडेर नेकपा एमालेसँग मिलेकोमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पश्चाताप गर्न थालेका छन् । चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विच्किएका जसपा अध्यक्ष यादव पुनः ओली इतरको गठबन्धन बनाउने गृहकार्यमा समेत लागेका छन् ।

यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाट बढाएका छन् । उनले आफ्नो पार्टीदेखि लिएर विभिन्न बैठकमा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग चुनावी गठबन्धन गर्नु आफ्नो ठूलो भूल भएको बताउन थालेका छन् ।

एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पटक पटक भएको छलफलमा पनि अध्यक्ष यादवले एमालेसँग गरेको चुनावी गठबन्धनले आफ्नो पार्टीलाई निकै क्षति भएको बताउँने गरेका छन् । सरकारमा सहभागी हुने विषयमा समेत यादव र ओलीको कुरा मिलेको छैन।

तीन दिनसम्म चलेको संसदीय दलको बैठकमा उनले राजनीतिमा एमालेका अध्यक्ष ओली अव्यवहारिक व्यक्ति रहेको र ओलीकै कारण राजनीतिक अवस्था अगाडि नबढेको टिप्पणी गरेका थिए । भागवण्डा नमिलेकै कारण जसपाले गठबन्धन पनि छोडेको छ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला संसद विघटन गरेपछि कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुका साथमा गठबन्धन बनाउन पनि जसपाका अध्यक्ष यादवले पहल गरेका थिए । ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो ।

सो सरकारमा उपेन्द्र यादव नेतृत्वको जसपा पनि सहभागी भएको थियो । तर केहीपछि उपेन्द्र यादवले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेतिर गएपछि तत्कालीन प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गरेका थिए । यता, संघीय सरकारबाट जसपालाई हटाएपछि मधेस प्रदेशमा पनि जसपाले कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेको थियो ।

गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेका यादव मंसिर ४ को निर्वाचनमा आफै समेत हारेका थिए। विगतको भन्दा जसपा झन् कमजोर भयो । एमालेसँग गठबन्धन गरेकै कारण चुनावमा जसपा कमजोर भएको टिप्पणी भईरहेको छ।

विशेष