News विदेश

भारतीय सेना दिवसको अवसरमा काठमाण्डौंमा चियापान

भारतीय सेना दिवसको अवसरमा काठमाण्डौंमा चियापान

भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले विहिवार चियापान समारोहको आयोजना गरेको छ। सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाउने गरिएको छ।

नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री प्रभुराम शर्मा प्रमुख अतिथि रहेको समारोहमा पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो  ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे। भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

महारथी प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको शुभकामना व्यक्त गरे। भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त भएका जनरल अनिल चौहानलाई बधाई पनि दिए।

दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे। भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गरे।
 

विशेष