News

समर्थनका लागि प्रचण्डले औपचारिक प्रश्ताव नगरेकोमा नेकपा एसमा चित्त दुखाई

समर्थनका लागि प्रचण्डले औपचारिक प्रश्ताव नगरेकोमा नेकपा एसमा चित्त दुखाई

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका अधिकांश नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा देखिएका छन् ।

शनिबारदेखि काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुले सरकारलाई समर्थन गर्नुपर्ने बताएका छन् । ५२ सदस्यीय स्थायी कमिटीमध्ये अहिलेसम्म ३० जनाले बोलिसकेका छन्। उनीहरुमध्ये अधिकांशले सरकारलाई समर्थन गर्ने पक्षमा मत राखेको पार्टी उपमहासचिव गंगालाल तुलाधारले बताएका छन्। 

‘हिजो पाँच दलीय गठबन्धन हुँदा सहकार्य भएकै प्रचण्ड प्रधानमन्त्री भएकाले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने भएको छ’ उनले भने–‘बोल्ने सबै साथीहरुको मत सरकारलाई सघाउने भन्ने छ।’

तुलाधरले प्रचण्डले आफूहरुसँग सल्लाह नगरी नेकपा एमालेसँग गठबन्धन गरे पनि सरकारलाई समर्थन गरेर जान सकिने विषयमा कुरा भइरहेको बताएका छन्।

केही नेताहरूले भने सरकारलाई समर्थन गर्ने र सरकारमा जान नहुने बताएका छन्। प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्न औपचारिक प्रस्तावसमेत नराखेको उनीहरुको भनाई छ।

एमाले, माओवादी वा जसपासँग तत्काल पार्टी एकताबारे कुनै छलफल नगरिएको पनि जनाईएको छ। ‘पार्टी एकताको चर्चा एमालेका केहीले चलाएका हुन् यो भ्रममा पर्न हुन्न। हामी जोगिनुपर्छ,’ तुलाधरले भने, ‘पार्टी एकता हुन्छ भनेर हाम्रो पङ्तीलाई भुलभुलैयामा राख्न खोजिएको षड्यन्त्र पनि हुन सक्छ।’
 

विशेष