News

सभामुख हात पार्ने कांग्रेसको योजनामा ग्रहण, माओवादीले जारी गर्यो ह्विप

सभामुख हात पार्ने कांग्रेसको योजनामा ग्रहण, माओवादीले जारी गर्यो ह्विप

प्रतिनिधि सभाको सभामुख हात पार्ने नेपाली कांग्रेसको योजनामा ग्रहण लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा इमान्दारीता प्रश्तुत गर्दा कांग्रेस सभापति शेरवहादुर देउवाको योजनामा ग्रहण लागेको हो।

माओवादीले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको बताए।

‘सत्ता गठबन्धनसँगको सहमति पालनामा प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभएअनुसार नै पार्टीले गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरेको हो,’ पाण्डेले भने।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्। तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन्। यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धन परिवर्तन नभएकाले घिमिरेलाईनै मत दिने बताइन्। नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। घिमिरेले एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रश्ताव तथा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको समर्थनमा उनले उम्मेदवारी दर्ता गरेका हुन। 
 

सभामुख देवराज घिमिरे

विशेष