थोत्रा जहाज उडाउने र उडान अनुमति दिनेलाई पक्राउ गर्न सिके राउतको माग
![थोत्रा जहाज उडाउने र उडान अनुमति दिनेलाई पक्राउ गर्न सिके राउतको माग](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/ck-raut-31e00.jpg)
जनमत पार्टीका अध्यक्ष सिके राउतले थोत्रा जहाज उडाउने र उडान अनुमति दिने दुवैलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्। प्रतिनिधि सभा सांसदसमेत रहेका राउतले बिहीबार संसदमा बोल्दै जहाज दुर्घटना हुँदा किन सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ नगरेको हो ? भन्दै प्रश्न उठाए।
राउतले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रह गरेका छन्। ‘मोटरसाइकल दुर्घटनामा पनि प्रहरीले धनीलाई हिरासतमा लिएर छानबिन सुरू गर्छ,’ उनले भने, ‘पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ? या त भन्नुप¥यो– सानालाई ऐन र ठूलालाई चैन!’
उनले गृहमन्त्री लामिछानेलाई यस विषयलाई गम्भीरतासाथ लिन र छानबिन गर्न माग पनि गरेका छन्। ‘तपाईंचाहिँ प्रक्रियावादी नबन्नुहोस्,’ राउतले भने।
गत आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा चालक दलकासहित उक्त ७२ जनाको ज्यान गएको थियो।