News

राष्ट्रपति कार्यालयमा कांग्रेस नेता केसीलाई सम्मान नपुगेपछि...

राष्ट्रपति कार्यालयमा कांग्रेस नेता केसीलाई सम्मान नपुगेपछि...

नेपाली कांग्रेसका नेता अजुननरसिंह केसीले सांसदहरुलाई सचिवभन्दा पछाडिको मर्यादामा राखेको भन्दै राष्ट्रपति कार्यालयको चर्को आलोचना गरेका छन् । सभामुखको शपथ कार्यक्रममा सांसदलाई सचिवभन्दा पछाडि राखेकोप्रति उनले आलोचना गरेका हुन।

सभामुखको शपथ कार्यक्रममा सहभागी भएर शीतलनिवासबाट फर्केपछि सांसद केसीले फेसबुकमा लेखेर राष्ट्रपति कार्यालयको आलोचना गरेका छन् । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखाएको उनको भनाइ छ ।

‘सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको शपथग्रहणमा उपस्थित भएँ। राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो’ उनले लेखेका छन्–‘के शितलनिवासलाई मर्यादा सम्बन्धी न्यूनतम काईदा कानुन थाह नभएकै हो ?’

सभामुख देवराज घिमिरेले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन । २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।

विशेष