News

अस्पताल बन्द गरेर प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको भाषण!

अस्पताल बन्द गरेर प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको भाषण!

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रवार आयोजित एउटा कार्यक्रममा बोल्दै मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु-याइने बताए। विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने उनको भनाई थियो।

तर, उनको भनाई र गराईमा भने फरक देखिएको छ। उनले यति भन्दै गर्दा उनी सहभागि भएको कार्यक्रम भने सर्वसाधारणले स्वास्थ्य सेवा पाउने अस्पतालको ओपिडि सेवा नै बन्द गरेर आयोजना गरेको पाईएको छ।

भक्तपुरस्थित सहीद धर्मभक्त मानव अगं प्रत्यारोपण केन्द्रले स्थापनाको १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको खुसीयालीमा शुक्रबार कार्यक्रम गरेको थियो। सोही कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गिरीले सर्वसाधारणको स्वास्थ्य सेवाका वारेमा भाषण गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको उक्त कार्यक्रम अस्पतालले ओपीडी सेवा नै बन्द गरेर आयोजना गरिएको थियो। अस्पतालले सार्वजनिक सूचना जारी गरेरै ओपीडी सेवा बन्द गरेको हो। अस्पतालजस्तो अतिआवश्यक क्षेत्रमा सेवा नै बन्द गर्नु चरम लापरबाही भएको सरोकारवाला पक्षहरूले बताएको छ।  

‘अस्पतालले सूचना नै जारी गरेर माघ ६ गते ओपीडी सेवा बन्द रहने जानकारी दिएको छ। तर के कारण बन्द रहने खुलाएको छैन। अस्पतालजस्तो ठाउँमा यसरी सेवा बन्द गर्नु चरम लापरबाही हो,’ अस्पतालका एक चिकित्सकले भने। ओपीडी ठप्प हुँदा सेवा लिन आएका बिरामीहरू उपचार नै नपाइ घर फर्किएको ती चिकित्सकको भनाइ छ। 

अस्पताल प्रशासनका अनुसार अहिले दैनिक दुई सयदेखि तीन सय बिरामीहरू सेवाका लागि आउने गर्छन्। कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाललगायतका अधिकारीहरू सेवाप्रवाह बन्दबारे अनभिज्ञ रहेको एक अधिकारीले बताए।

केन्द्रमा मुटु र कलेजोका बिरामीहरू १२ बजेपछि आए कुनै पनि बिरामीले टिकट पाउँदैनन्। नेपालमा कुनै न कुनै मृगौला समस्या रहेकाको संख्या करिब ३० लाखको हाराहारीमा छ। वार्षिक करिब तीन हजार मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था पुग्ने गरेको तथ्यांक छ। 
 

विशेष