News

जापान पठाई दिने भन्दै ३७ जनाबाट ३ करोड ठगी

जापान पठाई दिने भन्दै ३७ जनाबाट ३ करोड ठगी

मोरङको सुनवर्सी नगरपालिकाका केही दलालहरुको मिलेमतोमा जापान पठाई दिने भन्दै सोही क्षेत्रका ३७ जनाबाट ३ करोड रुपैयाँ ठगी भएको पाईएको छ। २ करोड ८७ लाख ठगेर ति ब्यक्तिहरु फरार भएको आरोपसहित पीडितहरूले कारबाहीको माग गरेका छन् ।

मोरङ सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकाका ३७ पीडितले बिहीबार पत्रकार सम्मेलन गरी २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले ठगी गरेको आरोप लगाए।

विभिन्न मितिमा विभिन्न बैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको भनाइ छ । पीडितमध्येका सुनवर्षी नगरपालिका–६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाइँ मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख जम्मा गरेको बैंक भौचर देखाए ।

यसैगरी कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको बताए ।

पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम फिर्ता गराउन माग गरेका छन् । 

विशेष