ओलीले माधव नेपाललाई ‘हामी फेरि सँगै परिएछ’ भन्दै मजाक गरेपछि...

पार्टी विभाजनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालबीचको सम्वन्ध खासै फरासिलो छैन। सार्वजनिक कार्यक्रममा उनिहरु एक अर्कालाई उछित्तो काढ्छन।
तर, शुक्रवार उनीहरुको जम्का भेट भएको छ। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहण कार्यक्रममा उनीहरुको भेट भएको हो। संवैधानिक प्रमुखहरूको शपथग्रहणमा उपस्थित हुने परम्परा अनुसार पूर्वप्रधानमन्त्रीहरू पनि त्यहाँ पुगेका थिए।
समारोहमा उपस्थित हुने पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल थिए।
सभामुखको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरू एकै लहरमा बसेका थिए। संयोगले पूर्वप्रधानमन्त्री नेपाल केपी ओलीको छेउमै परे।नेपालको छेउमा बाबुराम भट्टराई थिए। आफ्नै छेउमा नेपाल परेपछि ओलीले ठट्टा गरे।
‘ओहो, हामी फेरि सँगै परिएछ’ भनेर ओलीले ठट्टा गरेपछि एकछिन हाँसीमजाक भयो। तर, ओलीको टिप्पणीप्रति नेता नेपालले भने कुनै प्रतिक्रिया जनाएनन्। छेउमै रहेका भट्टराईले भने सँगै पर्नु राम्रै रहेको प्रतिक्रिया दिए। ‘सँगै पर्नु त राम्रो हो। यसरी धेरै सँगै परियो भने माया पलाउँदै जान्छ’ भट्टराईले भने।
पार्टी विभाजनपछि एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच यो दोस्रो भेटघाट हो। पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ११ मा शपथ लिँदा उनिहरुबीच कुराकानी भएको थियो। त्यसबेला दुई नेताबीच सामान्य कुराकानी भएको थियो।