News अर्थ

सुनको मुल्य तोलाकै दुई लाख पुग्ने अनुमान, यस्तो छ कारण

सुनको मुल्य तोलाकै दुई लाख पुग्ने अनुमान, यस्तो छ कारण

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ भने नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। तर, गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरेका छन्।  

सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको जनाईएको छ। 

सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम  हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ। अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ। 

काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिग्राम सुनको १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन (११.६६४ ग्राम) को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ। त्यस्तै हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन। नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। 

काइनर सन् २०२३ मा १०÷२० प्रतिशतको मात्रै वृद्धि नहुने दाबी गर्छन्। काइनरले दाबी गरेजस्तो सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नै पुग्ने दाबी स्वीकार गर्न नसकिए पनि धेरैले सुनको मूल्यमा राम्रै वृद्धि देखिने विश्वास भने गरेका छन्। 

मूलतः सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना बढेकाले तुलनात्मक रूपमा सुरक्षित र सर्वस्वीकार्य सम्पत्तिका रूपमा मानिने सुनको मूल्य बढ्ने अनुमान गरिएको हो। विश्वभरका केन्द्रीय बैंकहरूले नै सुनको खरिददारी बढाइरहेकाले पनि सन् २०२२ मै सूनको मूल्य उच्च दरमा वृद्धि भएको मानिएको छ। 

विशेष