News

रेशम चौधरीको रिहाई नभए प्रदेश सभा चल्न नदिने चेतावनी

रेशम चौधरीको रिहाई नभए प्रदेश सभा चल्न नदिने चेतावनी

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकमै नागरिक उन्मुक्तिका सांसदले रेशम चौधरी लगायतको रिहाइको माग अघि सारेका छन्। चौधरी टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।

सोमबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले टीकापुर घटनालाई राजनीतिक रुपले निराकरण गर्नु पर्ने माग गरे। चौधरी रिहाई नभए माघ १ पछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ।

प्रदेश सभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघी अगाडि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनु पर्दछ, त्यसो नभए माघि पछि प्रदेश सभा चल्न दिने छैनौं।’

उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए। त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलन जस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोन भएको उनले बताए।

०७२ मा भएको टीकापुर घटनालाई सात वर्ष भइसक्दा पनि सरकारले निकास दिन नसकेको उनको आरोप छ। 

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा ७ सांसदसहित सरकार बनाउन निर्णायक शक्तिक रुपमा रहेको छ। 

विशेष