News

कुकुरको बन्ध्याकरणका लागि बालेन्द्रले निकाले सार्वजनिक सूचना !

कुकुरको बन्ध्याकरणका लागि बालेन्द्रले निकाले सार्वजनिक सूचना !

काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ। महानगरले आफ्नो कार्य क्षेत्रभित्रका कुकुरलाई खोप लगाउने र बन्ध्याकरण गर्ने तयारी थालेको हो।

पुस १३ गते सार्वजनिक सूचना जारी गर्दै महानगरले यो कामका लागि इच्छुक संघसंस्थालाई आह्वान गरेको छ। आर्थिक वर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क गर्न भनिएको छ।

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख छ। इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्या लगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनुपर्नेछ। 

अहिले सामुदायिक कुकुरहरु खाना नपाएर कुपोषित भएको, छालाजन्य रोगले ग्रस्त भएको, दुर्घटनाबाट अंगभंग भएका जस्ता समस्यामा छन्। उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिस दुर्घटनाको जोखिममा छन्। कुकुरको टोकाइपछि रेविजविरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढ्ने गरेको छ। 

काठमाडौंमा मात्रै २२ हजार भुस्याहा र झन्डै ५० हजार घरपालुवा कुकुर छन्। महानगरपालिकाले २०७८/७९ मा बन्ध्याकरण गर्न र खोप लगाउन डेढ करोड बजेट विनियोजन गरेको थियो। 

विशेष