News

गृहमन्त्री लामिछानेको आदेश प्रहरीले टेरपुछर नलगाएपछि...

गृहमन्त्री लामिछानेको आदेश प्रहरीले टेरपुछर नलगाएपछि...

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको आदेश टेरपुछर नलगाएपछि मन्त्रालयले पत्राचार गरेर ध्यानाकर्षण गराएको छ। गृहमन्त्री रवि लामिछानेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

तर, प्रहरीले वास्तै नगरेपछि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार एक विज्ञप्ति निकालेर महतोलाई पक्राउका लागि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको जनाएका छन्। 

‘प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मी महतोसमेत भएको कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका प्रतिवादी महोत्तरी जिल्ला साविक निगौल गाविस–५ भई हाल गौशाला नगरपालिका–२ निवासी लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न माननीय उपपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पकाउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृहले भनेको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारवाही अगाडी बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’

मधेश आन्दोलका क्रममा भएको झडपमा घाइते अवस्थामा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाटै निकालेर हत्या गरेको अभियोग महतोमाथि छ। महोत्तरी क्षेत्र नम्बर २ बाट मंसिर ४ मा निर्वाचित उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए। हत्या आरोपित एमाले संसाद महतोले सांसद पदको शपथ लिइसकेका छन्।

बिहीबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न सभामुखले रुलिङ गर्नु आवश्यक रहेको बताएका थिए।

विशेष