प्रचण्डबाट उपराष्ट्रपति पाउने आशमा उपेन्द्र यादव, यस्तो छ उनको सांसद बन्ने रणनीति
७ दलिय सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छने भने एमालेको भागमा परेको सभामुखमा पनि ५ माघमा देवराज घिमिरे चुनिएका छन् ।
उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको छ। सत्ता साझेदार दलले गरेको सहमति अनुसार रास्वपाकी इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन्। ७ माघमा तय भएको चुनावमा सत्ता पक्षीय दलकी साझा उम्मेदवार रानामगर जित्ने पक्का छ।
अझै राष्ट्रपति र उपराष्ट्रपति जस्ता महत्वपूर्ण र शक्तिशाली पदहरुको चुनाव हुन बाँकी छ। सहमति अनुसार एमालेले राष्ट्रपति पाएको छ भने उपराष्ट्रपतिका विषयमा सत्ता पक्षीय दलहरु अझै अनिर्णीत देखिन्छन्। सहमति अनुसार माओवादी केन्द्रको भागमा उपराष्ट्रपति परेको भए पनि त्यसमा जसपाले दाबी गरेको छ।
जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव सत्तापक्ष भएपछि केही शक्तिशाली पद बाँडफाँटको हिस्सेदार आफूहरु पनि भएको बताउँछन्। तर, प्रधानमन्त्री निकट स्रोतका अनुसार उपराष्ट्रपति माओवादीको भागमा परेको हो। माओवादीका एक नेता भन्छन्, ‘हाम्रो पार्टीबाट उम्मेदवारबारे लगभग एउटा खाका बनिसकेको छ।’
संविधानमा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भनिएको छ। एमालेबाट राष्ट्रपतिमा पुरुष नेताकै चर्चा भएकोले माओवादीले महिला नेतालाई प्राथमिकता दिएको छ।
जसपाका नेताहरुले भने उपराष्ट्रपति आफ्नो दलले पाउने सम्भावना रहेको बताएका छन्। उपराष्ट्रपतिका लागि लगभग नाम पनि तय भएको ति नेताले दाबी गरे। तर, मधेश प्रदेशको मुख्यमन्त्री र केन्द्रमा दुई वटा मन्त्रालय दिएकाले जसपाले उपराष्ट्रपति माग्नु नहुने माओवादी केन्द्रका नेताहरुको भनाइ छ।
जसपालाई सहमतिमा नल्याए राष्ट्रपति र उपराष्ट्रपति दुवैको चुनावलाई असर गर्नेछ। किनकि प्रदेश सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्यले राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा मतदान गर्न पाउँछन्। जसमा जसपाको मतभार २ हजार १ सय ४५ छ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ। प्रतिनिधि सभा सदस्य २ सय ७५ छन् भने राष्ट्रिय सभाको कुल सदस्य ५९ मा हाल १ रिक्त छ। त्यसैले कुल ३३४ सिटको मतभार २६ हजार ३ सय ८६ हुन्छ। यस्तै ५ सय ५० प्रदेश सभा सदस्यको २६ हजार ४ सय ४० मतभार हुन्छ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ७ सय ८६ हो। संविधान अनुसार राष्ट्रपतिमा र उपराष्ट्रपति निर्वाचित हुन ५० प्रतिशत अर्थात् २६ हजार ३ सय ९४ मतभार ल्याउनैपर्छ। प्रतिनिधि सभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८३ सांसद गरी माओवादी केन्द्रका कूल १३० सांसद छन्। यस आधारमा माओवादीको मतभार ७ हजार ६ सय ९७ छ।
प्रतिनिधि सभामा ८९ सिट रहेको कांग्रेसको ७ हजार ८ सय २१ मतभार छ भने १७५ प्रदेश सभा सदस्यको मतभार ८ हजार ४ सय हुन्छ। यसरी कांग्रेसबाट राष्ट्रपति उम्मेदवारलाई खस्ने कुल मतभार १६ हजार २ सय २१ छ। ७८ जना प्रतिनिधि सभा सदस्य रहेको एमालेको ७ हजार ४ सय २६ मतभार छ। १६१ प्रदेश सभा सदस्य जितेकोले त्यसको ७ हजार ७ सय २८ प्रदेश मतभार हुन्छ। एमालेको कुल मतभार १५ हजार १ सय ५४ छ।
एकीकृत समाजवादीको २ हजार ५७४, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, जसपाको २ हजार १४५, राप्रपाको २ हजार ४५० र जनमत पार्टीको १ हजार २४४ मतभार छ। त्यस्तै, स्वतन्त्र सांसदको १ हजार २, लोसपाको ९७१, नागरिक उन्मुक्तिको ८१३, जनमोर्चाको २०६ र नेमकिपा २२३ मतभार छ। यी सबैको मतभार १३ हजार २०६ छ।
यो अंकगणितले जसपाभन्दा माओवादी केन्द्रले उठाउने उपराष्ट्रपति उम्मेदवारले जित्ने सम्भावना बढी छ। तर, सत्ता साझेदार दललाई एकै ठाउँमा राखिराख्न जसपाले पनि सो पद पाउन सक्ने सम्भावना छ। यसमा प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव एक अर्काबाट लचकताको अपेक्षा गरिरहेका छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा पराजित भएपछि अध्यक्ष उपेन्द्र यादव आफनो पार्टीबाट चुनाव जितेका सांसदलाई राजीनामा गराएर उपराष्ट्रपति बनाउने र रिक्त भएको स्थानमा उपनिर्वाचन गरेर जितेर सांसद वन्ने योजनामा छन्।
उपेन्द्रलाई संसदमा ल्याउनकै लागि पनि उपराष्ट्रपतिबाट पछि हट्न जसपा तयार नदेखिएको नेताहरु बताउँछन्।
यो पनि,
उपराष्ट्रपति उपेन्द्र यादव