News

संससदमा गृहमन्त्रीलाई प्रश्नः मान्छे पक्रिन नसक्ने, सूचना जारी गर्ने ?

संससदमा गृहमन्त्रीलाई प्रश्नः मान्छे पक्रिन नसक्ने, सूचना जारी गर्ने ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले नमानेको भन्दै मन्त्रालयले निकालेको विज्ञप्तिका विषयमा प्रतिनिधि सभाको वैठकमा आलोचना भएको छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सस्तो लोकप्रियताका लागि यस्तो गरेको आरोप लगाएका छन् । उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने समेत बताए ।

‘मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने ? यो कस्तो अभ्यास हो ? म प्रधानमन्त्रीलाई विश्वासको दिन जाँदा गृहमन्त्रीजीसँगै गएको हुँ । उहाँले १७० नम्बरमा हस्ताक्षर गर्नुभएको छ’ खतिवडाले भने–‘प्रहरीको फरार सूचीमा रहेका व्यक्तिले १९४ नम्बर हस्ताक्षर गर्नुभएको छ। अब हामीले अपराधीलाई चिनाइदिनु पर्ने हो कि गृहमन्त्री र हाम्रो संयन्त्रले चिन्छ ?’

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद् खतिवडाले गृहमन्त्री लामिछानेले अपराधीलाई पक्राउ गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी गरेको आरोप लगाए । ‘जे काम हो, त्यो गरौँ । सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौँ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खतिवडाले भनेका छन्, ‘जनताको माझमा अर्को नाटक, प्रहसन नगरौँ।’

‘गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन’ भन्दै उनले जनतालाई मुर्ख बनाउने काम नगर्न आग्रह गरे।
 

विशेष