News

ओलीको खेदो खन्ने उपेन्द्र फेरी पुगे बालकोटमै, उपराष्ट्रपतिमा चासो

ओलीको खेदो खन्ने उपेन्द्र फेरी पुगे बालकोटमै, उपराष्ट्रपतिमा चासो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति रुष्ट भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उनैलाई भेटन वालकोट पुगेका छन् । यादवले ओलीलाई भेटेर मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गरेका छन् ।

स्रोतका अनुसार सत्ता साझेदार दलहरूको भागबण्डामा हेपिएको भन्दै असन्तुष्ट बनेका यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् । यसो हुँदा यादवलाई दोहोरो फाईदा हुनेछ। पहिलो आफनो पार्टीले उपराष्ट्रपति पाउने छ भने दोस्रो उनको प्रतिनिधि सभाको यात्रा पनि सुनिश्चित हुनेछ।

अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने भनिएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा पुग्न चाहन्छन् । मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको र यो कुरा प्रधानमन्त्रीसँग पनि भएको बताएका छन् ।

जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गरेका छन् । चुनावमा पनि एमालेसँग मिलेर गएकाले अब पनि सोही अनुसार अघि बढ्ने र केही तलमाथि भएको आफूले मिलाउने आश्वासन ओलीले दिएका छन् ।

यादवले उपसभामुख निर्वाचनअघि ओलीसँग भेटेर आफ्नो सरोकार राखेको बताए । उनको एउटै मात्र ध्याउन्न रामसहाय यादवलाई उपराष्ट्रपति वनाएर उनको क्षेत्रमा उपनिर्वाचन गराई आफु सांसद वन्ने रहेको श्रोतको दावी छ।

विशेष