News

देउवाले फेरी रोपे विवादको विऊ, राष्ट्रपतिका दुई उम्मेदवार !

देउवाले फेरी रोपे विवादको विऊ, राष्ट्रपतिका दुई उम्मेदवार !

सत्ता गठबन्धनलाई फुटाउने नसके माओवादी अध्यक्ष दाहाललाई वैमान वनाएर राष्ट्रपति आफनो भागमा पार्ने रणनीतिमा लागेको नेपाली कांग्रेस आफनै कारण कमजोर हुने देखिएको छ। यसअघि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने योजनामा रहेको कांग्रेसमा अर्को उम्मेदवार खडा भएपछि तानातानको अवस्था उत्पन्न भएको छ।

यो अवस्थाको विजारोपण भने सभापति शेरबहादुर देउवाले नै गरेका छन् । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।

एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका हुन् । यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बन्न पुगे । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् । १० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाललाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनायो ।

सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । नेताहरुका अनुसार त्यसको अघिल्लो दिन भएको भेटमा प्रधानमन्त्री दाहालले पनि आफूलाई विश्वासको मत दिए फेरि सहकार्यको आधार बन्ने र राष्ट्रपतिका लागि कोशिस गर्ने आश्वासन दिएका थिए ।

त्यही आधारमा कांग्रेस नेताहरुले अहिले पनि राष्ट्रपति निर्वाचनसम्म परिस्थिति फेरिनसक्ने बताउने गरेका छन् । माओवादीका नेताहरुले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको र कांग्रेसलाई पनि सँगै लिएर जानुपर्ने बताउन थालेका छन् ।

स्रोतका अनुसार कांग्रेस वरिष्ठ नेता पौडेल, प्रधानमन्त्रीसँग निरन्तर सम्वादमा छन् । कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र माओवादीलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौला

विशेष