News खेल

एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी भए एम्बाप्पे

एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी भए एम्बाप्पे

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो।

पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरेका थिए। यसैगरी नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए।

खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।  ३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे। त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे। ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी ४–० ले अघि रह्यो।

एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल गरे। ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए। एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने। थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए।
 

केलियन एमबाप्पे

विशेष