News

भारतीय दुतावसले प्रचण्ड, बाबुराम, ओली र माधबलाई किन बोलायो एकै ठाउँ ?

भारतीय दुतावसले प्रचण्ड, बाबुराम, ओली र माधबलाई किन बोलायो एकै ठाउँ ?

परिस्थिती अनुसार एक अर्काको आलोचना गरेर नथाक्ने नेपालका पूर्वप्रधानमन्त्रीहरु केही समयका लागि भएपनि एक ठाउँमा उभिएका छन्। यो अवसर भने काठमाण्डौं स्थित भारतीय दुतावासले जुराई दिएको हो।

भारत स्वतन्त्रताको ७५ वर्ष र भारत–नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा राजदूतावासले माघ ६ गते काठमाण्डौंमा आयोजना गरेको ‘सङ्गीत सुकुन’ नामक साङ्गीतिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधबकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित थिए।

यसैगरी, वरिष्ठ नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासमेत उक्त कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो । 

यसैगरी, माघ ७ गते वातावरण मैत्री (लाईफस्टाईल फर इन्भाइरोमेन्ट) को अवधारणालाई प्रवर्धन गर्न पशुपति मन्दिर परिसरमा ५ किमि लामो दौडको आयोजना गरिएको थियो। जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा यसको उदघाटन गरेका थिए।

यस्तै माघ ८ गते प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न गरिएको छ। नेपाल र भारतका सांस्कृतिक सम्पदा क्षेत्रमा अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई सुदृढ गर्न र विज्ञहरुको स्थलगत अनुभवहरुबाट हासिल उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सेमिनारको उदघाटन गरेका थिए।

५० मिलियन अमेरिकी डलरको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत नेपालका ७ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ । सेमिनारमा विभिन्न प्राविधिक सत्रका साथै सहभागीहरुसँग अन्तरक्रिया र विभिन्न संस्थासँग आवद्ध भई प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिरहेका विज्ञसँग छलफल भएको थियो।
 

विशेष