News

विरामी बचाउने डाक्टरको पढाईमा यस्तो लापर्वाही, खुलेआमा लाखौको वार्गेनिङ

विरामी बचाउने डाक्टरको पढाईमा यस्तो लापर्वाही, खुलेआमा लाखौको वार्गेनिङ

नेपाल मेडिकल काउन्सिलद्वारा माघ १२ गतेदेखि सञ्चालन हुन लागेको नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परिक्षमा ब्यापक चलखेल भईरहेको सुचना वाहिरिएको छ।

कतिपय माफियाहरुले विद्यार्थी पास गराउने ठेक्का नै लिएर लाखौको वार्गेनिङ गरिरहेको जनाईएको छ। स्रोतका अनुसार माफियाहरुले विद्यार्थीलाई फोन गरेर र विभिन्न स्टडी सेन्टरहरुमा वोलाएर रकमको वार्गेनिङ गरिरहेका छन् ।

प्रति विद्यार्थी २० देखि २५ लाखसम्म माग्ने गरेका उनिहरुले ‘भनेजती पैसा पाए परिक्षामा पास गराउने जिम्मा आफुहरुले लिने’ वताउने गरेको श्रोतको दावी छ। माफियाले काउन्सिलका कतिपय पदाधिकारीको नाम लिएर ‘उनिहरुसँग हाम्रो कुरा भएको छ, पैसा दिनोस ढुक्कसँग पास भएको प्रमाण पत्र लिनोस’ भन्दै प्रलोभना दिने गरेको पाईएको छ।

एक परिक्षार्थीका अनुसार माफियाले ‘सिरेन टेक्नोलोजी’ बाट नम्बर पाएको भन्दै सवै परिक्षार्थीलाई फोन गरिरहेका छन् भने केहीले काउन्सिलबाट नै सम्पुर्ण विवरण पाएको भन्दै विद्यार्थीलाई विश्वासमा लिने र रकमको वार्गेनिङ गर्ने गरिरहेका छन् ।

ति परिक्षार्थीका अनुसार यस अघिका परिक्षामा पनि पैसाको चलखेल हुने गरेको पाईएकाले यस पटक पनि पैसा लिएर पास÷फेलको रणनीति बन्न सक्ने देखिएको छ। यो कुरा काउन्सिलको परिक्षा पास गरेका डाक्टरहरु समेत स्विकार गर्छन। ‘यस अघिका परिक्षामा पैसाको चलखेल भएका गुनासो आम जनमानसले थाहा पाउने गरी सार्वजनिक भएका हुन। तर प्रमाण नपुगेकाले कारवाहीको प्रकृया अगाडि वढेन’ उनिहरु भन्छन्–‘त्यो नजिर हेर्ने हो भने अहिले त्यस्तो घट्ना नहोला भन्ने भन्दा पनि अझ सकृय रुपमा भईरहेको होला भनेर विश्वास गर्न सकिन्छ।’

अर्का एक डाक्टरका अनुसार नेपाल मेडिकल काउन्सिलका कतिपय पदाधिकारीहरु नै विद्यार्थी चीन र बंगलादेश पठाउने ठेकेदार तथा निजी मेडिकल कलेजका सञ्चालक रहेकाले यो कुरामा सत्यता हुनसक्ने देखिएको छ। ‘यस्तो सम्वेदनशिल विषयमा वजारभरी हल्ला भएपछि सम्वन्धित निकायले तत्काल परिक्षा रोकेर छानविन गर्नु उचित हुन्छ’ उनले भने–‘तर, हिजोदेखि नै यो विक्रितीले संरक्षण पाउँदै आएकाले आज यसको छानविन होला भनेर विश्वास गर्न सकिन्न।’

यता, मेडिकल काउन्सिलको परिक्षाका विषयमा यस्ता सूचना वाहिरिएपछि अधिकांश परिक्षार्थी र सरोकारवालाको ध्यान स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीमा केन्द्रित भएको । डा. कार्की मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा दिएर सरकारमा सहभागि भएकी हुन।

नाम चलेको डाक्टर, काउन्सिलमा वसेर काम गरेको अनुभव तथा विक्रिति र विसंगति विरुद्धको नाराकै कारण चुनाव जितेकी कार्कीले आफनै मन्त्रालयसँग जोडिएको निकायका विषयमा उठेका गुनासालाई छानविनको दायरामा ल्याउने र दोसीलाई कारवाही गर्नेमा धेरैले आशा राखेका छन् ।

नेपाल मेडिकल काउन्सिल

विशेष