नियुक्ती पाएको एक महिनापछि मन्त्रालय छिरे खानेपानी मन्त्री
![नियुक्ती पाएको एक महिनापछि मन्त्रालय छिरे खानेपानी मन्त्री](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/abdulaha-khan.jpg)
मन्त्रालयमा चित्त नवुझाएर सपथ ग्रहण वहिस्कार गरेको जनमत पार्टी अन्ततः प्रधानमन्त्रीले छुट्याएकै मन्त्रालय लिएर सरकारमा सहभागि भएको छ। जनमत पार्टीका अब्दुल खानले नियुक्ती पाएको १ महिनापछि पदभार सम्हालेका छन् ।
सत्तारुढ दलहरूबीच मन्त्रालय भागवण्डा नमिल्दा बिनाविभागीय मन्त्रीको हैसियतमा उनले प्रधानमन्त्री प्रचण्डसँगै ११ पुसमा शपथ खाएका थिए । तर, मन्त्री खानले माघ ११ गते खानेपानी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । सरकारलाई अप्ठ्यारो परेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा पदभार ग्रहण गरेको उनले बताए ।
दोस्रोपटक माघ ३ गते दाहालले मन्त्रिपरिषद् विस्तार गर्दा जनमताको भागमा खानेपानी मन्त्रालय परेको थियो । तर, जनमतले कृषि वा उद्योग मन्त्रालयमा दाबी गरेको थियो । उद्योग र कृषिमध्ये एक पाउने सहमति भएको जनमतको दाबी छ । सहमतिविपरीत खानेपानी मन्त्रालय दिएर धोका भएको भन्दै मन्त्री खान पदभार सम्हाल्न गएका थिएनन् ।
प्रधानमन्त्री दाहाल जनमतलाई उद्योग मन्त्रालय दिन तयार भए पनि एमाले अध्यक्ष केपी ओलीले उद्योग मन्त्रालय नछोडेपछि अन्ततः जनमत आफ्नो निर्णयबाट ब्याक हुन बाध्य भएको हो । ११ पुसमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री खानकै नेम प्लेट राखिएको थियो । तर, ११ माघमा पदभार सम्हाल्न एमालेका दामोदर भण्डारी पुगेका थिए ।
मन्त्री खान पदभार सम्हाल्न नगएपछि प्रधानमन्त्री दाहालले खानेपानीको सट्टा वन मन्त्रालय लिन जनमतलाई भनेका थिए । तर, खानेपानीको विषय पनि महत्वपूर्ण रहेको निष्कर्ष निकाल्दै मन्त्री खानले मन्त्रालय पुगेर काम सुरु गरेका छन् ।