News

देउवाले केन्द्रीय कार्यसमितिको बैठक राख्न नचाहने यस्ता छन् दुई कारण

देउवाले केन्द्रीय कार्यसमितिको बैठक राख्न नचाहने यस्ता छन् दुई कारण

पार्टी विधानले नचिन्ने पदाधिकारी बैठक गरेर सरकारलाई विश्वासको मत दिनेजस्ता महत्वपूर्ण निर्णय गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक भने पटक–पटक सार्दै आएका छन् । दुई पटक स्थगित भएको केन्द्रिय कार्यसमितिको वैठक विहिवार पनि उनले अनिश्चित कालका लागि स्थगित गराए। 

केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्ने सहमति भने सोमबार नै भएको खुलेको छ । सहमहामन्त्री जीवन परियारका अनुसार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठक स्थगित गर्ने विषयमा छलफल भएको थियो ।

सभापति देउवाले महामन्त्री, उपसभापति र नेता शेखर कोइराला सँगसमेत परामर्श गरेका थिए । केन्द्रीय समिति नबस्ने भएसँगै संस्थापन इतर समूहको बैठक पनि स्थगित भएको थियो  । आइतबार संस्थापन इतर पक्षको बैठक बसेपनि मंगलबार पुनः बस्ने भनिएको बैठक नबसेको हो ।

योसँगै कांग्रेसमा असन्तुष्टि वढेको छ। ‘कांग्रेसमा विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ’ एक केन्द्रीय सदस्य भन्छन्–‘विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्ने गरेको छैन।’

केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय गर्दा कांग्रेस रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ । ‘पार्टीका पदाधिकारी बसेर बैठक सारिएको हो । केन्द्रीय कमिटीको बैठक छल्ने कुराले पार्टीको हित गरिरहेको छैन’ उनले थपे–‘बैठक स्थगित गर्न राम्रो होइन । जतिसक्दो चाँडो बैठक बोलाउनुपर्छ । त्यहीबाट अगाडि रणनीति बनाउनुपर्छ।’

पार्टीमा जमिनदारी प्रथा देखिन थालेको भन्दै उनले कांग्रेसमा राजनीति तर्क–वितर्कको ठाउँ नै नरहेको टिप्पणी गरे । संगठनमा चरम असन्तुष्टि देखिएपनि सभापति देउवा तत्काल केन्द्रीय समिति बैठक राख्ने पक्षमा छैनन्। यसो हुनुका पछाडि दुई कारण स्पष्ट रुपमा देखिएका छन् । यही कारण देउवाले वैठक सार्दै आएको कांग्रेस नेताहरु बताउँछन। 

देउवालाई गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा पार्टीभित्र आलोचना होला भन्ने डर छ। चुनावअघिसम्म सभापति देउवा चार दलीय गठबन्धन जोगाएर जाने पक्षमा थिए। कांग्रेसले चुनावमा गठबन्धनविरूद्ध उभिनेलाई कारबाहीसमेत गर्यो। तर चुनावपछि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने ? भन्ने विवादले गठबन्धन भत्कियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने। यही विषयमा आलोचना खेप्नु पर्ने आशंकाले देउवा वैठक सारिरहेको नेताहरुको वुझाई छ।

अर्कोतर्फ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकोले पार्टीभित्र थप आलोचना हुने र यसले राष्ट्रपति चुनावका बेला दाहाल झन् बिच्किन सक्ने भय देउवालाई परेको छ। पार्टीभित्र हुने विवाद बाहिर छताछुल्ल हुँदा राष्ट्रपति पनि गुम्ने गरी परिस्थिति बनेमा थप रक्षात्मक हुनुपर्ने अवस्थाको सिर्जना हुन सक्ने भएकोले पनि उनले अहिले केन्द्रीय समिति बैठक राख्न नचाहेको वताईन्छ।

पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसका ८८ सांसदले विश्वासको मत दिएका थिए। केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेलले मात्रै विरोध गरेका थिए। यद्यपी ह्वीप लगाएपछि उनीहरूले पनि मतदान गरेका थिए।

विशेष