News

ओलीप्रति प्रचण्डको गुनासोः राप्रपा र रास्वपासँग मिलेर घेरावन्दी गर्ने काम भयो

ओलीप्रति प्रचण्डको गुनासोः राप्रपा र रास्वपासँग मिलेर घेरावन्दी गर्ने काम भयो

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले बिहीबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै यस्तो असन्तुष्टि जनाएका हुन् ।

ओलीले संसद् विघटनको विषय संसद् प्रवेश गराएर सहमति पालना नगरेको धारणा राखे। माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको उनले टिप्पणी गरेका थिए ।

दाहालले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक÷एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए ।

यतिमात्रै होईन, दाहालले बैठकमा एमाले अध्यक्ष ओलीप्रति गुनासैगुनासा पोखेका छन् । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सरकार बनेको दिनदेखि नै ओलीले अप्ठेरो मात्र बनाएको गुनासो दाहालले गरेका छन्।

एमालेसँग गठबन्धन भए पनि ओलीको व्यहारप्रति दाहाल सुन्तष्ट नरहेको नेताहरुले बताए । सहज वातावरण बनाउनुभन्दा पनि अप्ठेरो पार्ने र राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आएर बैठकमा घेराबन्दी गर्ने गरेको बैठकमा दाहालले बताएका थिए।

‘शपथग्रहणपछि पोर्टफोलियोमा नेकपा हुँदा पनि पछाडि रहेका विष्णु पौडेललाई नारायणकाजी श्रेष्ठभन्दा माथि हुनुपर्छ भनेर माथि राख्न लगाए । ओली राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग मिलेर आउने अनि घेराबन्दी गर्ने गरिराख्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै उनले भने, ’मन्त्रालय बाँडफाँटमा पनि मिलाएर लैजाऊँ भन्दा आफूले मात्र राम्रा–राम्रा मन्त्रालय छान्नुभयो । भएन भनेर रास्वपा र राप्रपालाई पनि अप्ठेरो पार्न लगाउनुहुन्छ ।’

गठबन्धन बनाउन सहज भए पनि सरकार चलाउन भने असहज हुँदै गएको उनले बताएका थिए । अहिले माओवादी, एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी सरकारमा छन् । राष्ट्रपतिका बारेमा आजको बैठकमा धेरै छलफल नभए पनि एउटै पार्टीलाई सबै कुरा बुझाउँदा के होला, सबैले मनन् गरौँ भनेर कुरा उठेको अर्का एक पदाधिकारीले बताए ।

विशेष