News

अस्पतालको अनुमति नै नलिई कसरी आईसियुमा पुगिन डा. तोसिमा कार्की ?

अस्पतालको अनुमति नै नलिई कसरी आईसियुमा पुगिन डा. तोसिमा कार्की ?

बानेश्वरको संसद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले भेटेको विषय अहिले चर्चामा छ।

डा. कार्की राज्यमन्त्रीको हैसियतमा बिरामीको अवलोकनका लागि पुगेकी थिइन्। तर, उनले आफ्नो पदीय गरिमा मात्रै हैन चिकित्सकीय नैतिकता (मेडिकल इथिक्स) लाई समेत भुलेर भिडभाडसहित आइसियुमा छिरन। जुन कुरा अस्पतालका स्टाफ र चिकित्सकले समेत थाहा पाएनन्। 

तोसिमाले आईसीयूमा बिरामी भेटेको भिडियो बाहिरपछि भने उनी विवादमा परेकी छिन्। आफैं डाक्टर भएर पनि आईसीयूको संवेदनशीलतामा ध्यान नदिएको आरोप उनीमाथि लागेको छ । उनले स्टन्टका लागि क्यामरा बोकेको हुल आईसीयूभित्र लिएर गएको भन्दै आलोचना भईरहेको छ। आईसीयूभित्र भिडिओ कसरी खिचियो भन्ने विषयमा छानबिन गरिरहेको अस्पताल स्रोतले बतायो ।

आईसीयूमा एकचोटिमा एकजनाभन्दा बढीलाई प्रवेश गर्न अनुमति हुँदैन । साथै तोसिमाले हातमा पञ्जा नलगाइकन बिरामी छोएको विषयमा पनि प्रश्न उठेको छ । तोसिमा स्वयम् एक जनरल सर्जन हुन् । अस्पतालमा विरामी भेट्न गएकी डा. कार्कीले विरामीसँग गरेको कुराकानी पनि विवादमा छ। उनी पुग्नासाथ ‘प्रेम दाइ। म आएको छु है, डा. तोसिमा कार्की।’ भन्दै कुरा सुरु गरेकी छिन्। उनको वोलाईमा अस्पतालमा भेट्न पुगेर उनले विरामीमाथि उपकार गरेझै झल्किन्छ। 

भिडिओ सार्वजनिक भएपछि सुजन गौतमले डा. तोसिमा कार्कीलाई मेन्सन गर्दै लेखेका छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो । तर, राज्यमन्त्री डा. तोसिमा कार्कीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डाक्टर हो नि ! आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लैजान मिल्छ ? त्यो ठाउँको संवेदनशीलतालाई किन गम्भीर रुपमा लिनु भएन ? मिडियाबाजी गरेर हिट हुने विचार गर्नु भाको हो र ?’

अस्पतालहरुले आईसीयूको प्रोटोकल आआफ्नै बनाएका हुन्छन् । रोगको प्रकृति हेरेर आईसीयूको प्रोटोकल बनाउनले गरिएको छ। चिकित्सकहरुका अनुसार प्रायजसो अस्पतालहरुको आईसीयूमा भिडिओ खिच्न निषेध गरिएको हुन्छ । मास्क–पञ्जा र गाउन पनि अधिकांश अस्पतालमा अनिवार्य गरिएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा पनि फोटो÷भिडिओ खिच्न नपाइने प्रोटोकल रहेको अस्पतालले जनाएको छ । आईसीयूमा एक जनाभन्दा बढी जान नपाइने र गएका व्यक्तिले मास्क, पञ्जा र एप्रोन अनिवार्य लगाउनुपर्ने अस्पताल स्रोतले बतायो ।

त्यति मात्रै होईन, राज्यमन्त्री कार्कीले आफैंले उपचार गरिरहेको बिरामीलाई जसरी नै आचार्यलाई पेन किलर सुई समेत दिन सुझाव दिएको भिडियोमा देखिन्छ। अन्य चिकित्सकले उपचार गरिरहेको बिरामीलाई त्यसरी औषधि दिनु भन्न नमिल्ने एक नियमनकारी निकायका चिकित्सकले जानकारी दिए। 

चिकित्सकका अनुसार पहिलो कुरा त एक चिकित्सकको टिमले उपचार गरेको बिरामीलाई अन्य चिकित्सकले न बिरामीको कागजात हेर्न मिल्छ, न सोध्न नै। कीर्तिपुर अस्पतालका अर्का एक चिकित्सकले भने राज्यमन्त्री कार्कीले गर्न नहुने काम गरेको बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी स्वास्थ्य राज्यमन्त्री कार्कीले चिकित्सकीय नैतिकता र उपचारको सामान्य प्रोटोकललाई समेत ख्याल नगरी बिरामीको सोधिखोजी गर्नुकासाथै उपचार कक्षमा अव्यवहारिक गतिविधि गरेको बताउँछन्।

संक्रमणको जोखिमको दृष्टिले समेत त्यसरी आइसियुमा स्वास्थ्यका मापदण्ड पूरा नगरी व्यक्ति जान नमिल्ने डा. मरासिनिले जानकारी दिए। राज्यमन्त्री कार्कीले म चिकित्सक हुँ भन्दै आइसियुमा उपचार गरिरहेका बिरामीलाई केरकार गर्न समेत नमिल्ने डा. मरासिनिले बताए। त्यति मात्रै हैन, लिखित अनुमतिबिना त्यसरी बिरामीको भिडियो समेत खिचेर मिडियामा सम्प्रेषण गर्न नमिल्ने उनले जानकारी दिए। 

स्रोतका अनुसार राज्यमन्त्री कार्की बेलुका करिब साढे सात बजे कीर्तिपुर अस्पताल पुगेकी थिइन्। बिरामीलाई हेरेर उपचारमा संलग्न चिकित्सकसँग आचार्यको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएर राज्यमन्त्री कार्की फर्केको स्रोतले बतायो। 

तोसिमा कार्की प्रेमप्रसाद आचार्य बर्न अस्पताल

विशेष