News

राष्ट्रपतिका विषयमा ओली–दाहाल छलफल, विश्वस्त छैन एमाले

राष्ट्रपतिका विषयमा ओली–दाहाल छलफल, विश्वस्त छैन एमाले

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भाबी राष्ट्रपतिका विषयमा छलफल भएको छ । बिहीबार दिउँसो बालुवाटारमा भएको छलफलमा दुई नेताबीच राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा छलफल भएको हो।

‘राष्ट्रपतिलगायत समसामयिक विषयमा कुराकानी भएको हो’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले भने। एमाले अध्यक्षले ओली दाहाल प्रधानमन्त्रीमा नियुक्त हुँदा भएको सहमतिअनुसार एमालेले राष्ट्रपतिको उमेदवार उठाउने र त्यसैमा सहमति हुने दाबी गर्दै आएका छन् । प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिमा सर्वसहमति हुनुपर्ने बताउँदै आएका छन् । 

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले दिएको विश्वासको मतको परिणाम राष्ट्रपति निर्वाचनमा देखिन सक्ने भन्दै एमाले नेताहरु सशंकित छन् । प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपतिका लागि कसैसँग सहमति भएको छैन भन्नु र एमालेले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति भइसकेको छ भन्नुले एक अर्कामाथि अविश्वास बढाएको हो ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादीबीच भएको सहमतिका आधारमा नै सरकारका सबै कामकारवाही अगाडि बढेको बताए । एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष दाहालबीच राष्ट्रपति र उपराष्ट्रपतिमा मौखिक सहमति भएको उनको भनाइ छ । 

यता कांग्रेस भने प्रधानमन्त्री दाहालले सभामुख, उपसभामुखमा नसघाएकाले राष्ट्रपतिमा सघाउने आशा गरेको छ ।  काँग्रेस त्यही विश्वासका साथ तयारीमा लागेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई कुनै पनि विषयवस्तुतमा नचिढ्याउन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएको बताइन्छ । 

पदाधिकारीको बैठकमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम अघि सारेका छन् । सभापति देउवाले कुनै पनि हालतमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार निर्वाचित हुने वातावरण बनाउनुपर्ने भन्दै नेताहरूलाई अन्य दलसँग छलफलमा जुट्न निर्देशन पनि दिइसकेका छन् ।  

यसले एमालेलाई झन झस्काएको छ । माओवादीले काँग्रेसलाई साथमा लिएपछि ओली दवावमा देखिएका छन् । सोही कारण ओलीले सत्ता गठबन्धनभित्रै पनि आफ्ना पक्षमा दलहरुलाई ध्रुवीकृत गर्न थालेका छन् । उनले राजेन्द्र लिङ्देल नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पक्षमा लिएका छन् । उता प्रधानमन्त्री दाहालले जनमत पार्टी, जसपा, लोसपाका साथै काँग्रेस र नेकपा एकीकृतलाई साथमा राखेका छन् । 

दाहाल–ओलीबीचको आशंका मेटाउन यसबारे छलफल हुँदै आएको छ । राष्ट्रपतिको निर्वाचन मिति तोक्नका लागि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन र संविधान बाझिएको भन्दै निर्वाचन आयोगले मिति तोकेको छैन । ऐनअनुसार माघ २८ भित्र निर्वाचन भइसक्नुपर्ने भए पनि फागुनको २५ गतेपछि गर्ने तयारी रहेको आयोगका पदाधिकारी बताउँछन् । 
 

विशेष