News

दौरा सुरुवाल लगाउन यसरी वाध्य भएका रहेछन् प्रचण्ड

दौरा सुरुवाल लगाउन यसरी वाध्य भएका रहेछन् प्रचण्ड

सात दलको समर्थमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएपछि सपथ ग्रहणमा उनले कुन पोशाक लगाउँछन भन्ने सर्वत्र चासो थियो। अघिल्लो दुई पटक प्रधानमन्त्री बन्दा उनले सुट र टाई माथि कालो टोपी लगाएर शपथ खाएका थिए । 

तर, विहानै उनले दौरा सुरुवाल लगाउने र सिलाउन अर्डर समेत दिईसकेको समाचारहरु सार्वजनिक भए। नभन्दै प्रधानमन्त्री दाहाल दौरा सुरुवालमा सितलनिवासमा उपस्थित भए। खासमा प्रधानमन्त्री दाहालले दौरा सुरुवाल लगाएरै सपथ ग्रहण गर्ने भनेर अघिल्ला दिन वेलुका नै समझदारी वनेको थियो।

गत पुस १० गते दाहाललाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै ७ दलका नेताहरू शीतल निवास पुगेपछि अनौपचारिक कुराकानीका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नै शपथ ग्रहण समारोहमा लगाउने पोशाकबारे चासो राखेकी थिइन् ।

राष्ट्रपति भण्डारीले प्रश्न गरेपछि दाहालले कुनै जवाफ दिएनन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेतले दौरा सुरुवाल नै लगाउन सुझाव दिए ।

‘आफ्नो जातीय पहिचान झल्किने पोशाक लगाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यताका आधारमा पनि तपाईँ खस–आर्य भएको हिसाबले दौरा–सुरुवाल नै उपयुक्त हो ।’– श्रेष्ठले भनेका थिए । त्यसपछि भने दाहालले आफू दौरा–सुरुवालको विरोधी नभएको स्पष्ट पार्दै आफूसँग दौरा–सुरुवाल नभएको भन्दै टार्न खोजे।

‘दौरा–सुरुवालप्रति मलाई आपत्ति होइन । देशमा सबै जातजातिले आ–आफ्नो पोशाक लगाउनुपर्छ भन्ने नै हो’ उनले भनेका थिए–‘हाम्रो यो मान्यता स्थापित भइसकेको छ।’ त्यस पछि उनले आफ्ना केही निकटस्थ र परिवारका सदस्यहरूसँग समेत सल्लाह लिए । सबैबाट दौरा सुरुवाल लगाउँदा नै शपथग्रहण समारोहको गरिमा रहने सुझाव पाएपछि दाहाल त्यसमा सहमत भएको श्रोतको भनाई छ।
 

विशेष