News

सिडिओ सरुवामा प्रचण्डको हस्तक्षेप,  गोरखा हिडेका कवारी बाटोबाटै फिर्ता

सिडिओ सरुवामा प्रचण्डको हस्तक्षेप,  गोरखा हिडेका कवारी बाटोबाटै फिर्ता

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गर्यो। एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका पनि पहुँचका आधारमा सिडिओ हुने तथा सरुवा हुने, कार्यसम्पादन मूल्यांकनको थिति नै नभएकोलगायत विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ ।

०६८ ताका सर्वोच्च अदालतले सिडिओमा पठाउँदा कानुन पढेको वा न्याय सेवासम्बन्धी तालिम लिएकालाई मात्र पठाउन निर्देशनात्मक आदेश दिएको थियो । तर, यो पनि पूर्ण कार्यान्वयनमा छैन । यसबाहेक सिडिओ सरुवामा हालसम्म कुनै कानुनी आधार छैन । यसैलाई ब्यवस्थित गर्न कार्यविधि ल्याइएको हो।

कार्यविधिले सिडिओको सरुवा, पदस्थापन र काजमा कानुनको ज्ञान, कार्य अनुभव, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । पहुँचका आधारमा एउटै व्यक्तिले लिइरहने अनवरत अवसरमा अंकुश लगाएको छ । सिडिओको पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी तथा अनुमानयोग्य बनाउन कार्यविधि ल्याइएको जनाइएको छ । 

यही कार्यविधि अनुसार गत माघ ६ गते गृहमन्त्रालयले सिडिओको सरुवा पनि गर्यो । तर, गृहको सरुवामा प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेका छन् । गृह मन्त्रालय निर्माण गरेको कार्यविधि अनुसार माघ ६ गते गोरखा सहित विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवमा दाहालले हस्तक्षेप गरेका हुन् । उनले आफ्नो जिल्लाको सिडिओ सरुवामा नसोधेको भन्दै गोरखा सरुवा गरिएका सिडिओलाई त्यहाँ जान रोकेका छन्। 

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा भएपछि सिराहामा रहेका लालबाबु कवारीलाई गोरखाको सिडिओका रूपमा पठाइएको थियो। तर गोरखा जान लागेका उनलाई बाटोबाटै मन्त्रालय फिर्ता बोलाइएको छ । 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले माघ ६ गते गोरखा सरुवा गरिएको प्रजिअ लालबाबु कवारीको सरुवा रोकिएको बताए । 

सरुवा भएका आचार्य कपिलवस्तु पुगेर बिहीबारदेखि काम थालिसके भने गोरखा तोकिएको सिडिओलाई गृह मन्त्रालयले बुधवार अर्को पत्र पठाएर गोरखा नजान भनेको छ। ‘प्रधानमन्त्रीज्यूको रुचिमा गोरखाको सिडिओ सरुवा रोकिएको हो’, गृहमन्त्रालय स्रोतले भन्यो ‘उहाँले मलाई नसोधी सरुवा गरेको भन्दै सहसचिव विनोद सिंहलाई भन्नु भएको रहेछ त्यस कारण रोकिएको हो ।’ कवारी भने गोरखा जाने तयारीमा थिए । 

‘गोरखा जान तयार थिएँ, रमाना लिएर हिँड्ने तयारी गरेकै बेला अर्को पत्र आयो, मन्त्रालयमा हाजिर हुन भनिएको छ’ गोरखा तोकिएर मन्त्रालय तानिएका लालबाबु कवारीले भने । कवारीको सरुवा रोकिएपछि कार्यविधिले पनि हावा खाएको छ । 

कार्यविधिमा उल्लेख भए अनुसार गोरखा  ‘ख’ श्रेणीको जिल्लामा पर्छ । सिराहालाई पनि ‘ख’ श्रेणीमा राखिएको छ । गोरखा आउन लागेका र यसअघि रहेका दुवै एकै तहका हुन् । गृहका कर्मचारीले सिडिओ सरुवामा पारदर्शी अपनाएको बताएका थिए । उनीहरूले अहिलेको सरुवाबाट कसैलाई पनि अन्याय नभएको तर केही ठाउँमा अन्याय देखिएको भए पनि मन्त्रालयले मिलाउने तयारी गरेको बताइरहेका बेला प्रधानमन्त्री दाहाल आफैले फोन गरेर आफ्नो जिल्लाको सिडिओ सरुवामा हस्तक्षेप गरेका छन् । 

यसअघि दाहालले मन्त्रिपरिषद्को बैठकबाट सहसचिवहरुको काज सरुवामा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने निर्णय गराएर मन्त्रीहरूलाई अङ्कुश लगाउन खोजेका थिए । काम काज र काज सरुवामा प्रधानमन्त्रीको सल्लाह लिनुपर्ने निर्णय गराएका थिए । 

सिडिओ

विशेष