News

वाहिरियो माधव नेपालको धारणाः सत्ता गठबन्धनमा सामेल हुन सक्दैनौं

वाहिरियो माधव नेपालको धारणाः सत्ता गठबन्धनमा सामेल हुन सक्दैनौं

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताए ।

‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन’ उनले भने–‘हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं। नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। ०७७ साल पुस ५ गते प्रतिनिधिसभाको विघटन भएपछि नेपालको राजनीतिले नाटकीय रूप लिएको उनको भनाई छ।

‘त्यसभन्दा पहिले नेकपा एमालेभित्र अन्तर संघर्ष चलिरहेको थियो। त्यो अन्तरसंघर्षलाई त्यही भित्र बसेर हल गर्ने हाम्रो चाहना थियो’ उनले भने–‘तर त्यो हुन सकेन। किन भएन? त्यसको हामी पछि समीक्षा गरौँला।’

उनले आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिए। अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राखे ।

आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

विशेष