ओली–दाहाल भेट, रविलाई गृहमन्त्रीमा फर्काउन दबाव
![ओली–दाहाल भेट, रविलाई गृहमन्त्रीमा फर्काउन दबाव](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/01/oli-dahal-d7913.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।
वार्तामा समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवलायले जनाएको छ । श्रोतले भने नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन ओलीले दाहाललाई दवाव दिएका छन् ।
प्रधानमन्त्री दाहाल निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दिएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर दाहाललाई यस्तो ‘सुझाव’ दिएका थिए। दाहालले उनको कुरा नमानेपछि ओली भेटका लागि बालुवाटार पुगेको जनाईएको छ।
‘उहाँमाथि गम्भीर चार्ज लागिसकेपछि यसलाई प्रष्ट गर्ने दायित्व उहाँको पनि हो, किनभने नेपाली नागरिकताकै सवालसँग जोडिएको गृहमन्त्रालय उहाँले सम्हाल्नु नै समस्या थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अझ राहदानीका विषय पनि आएका छन् । तर एमालेबाट अलिकति प्रेसर नै छ ।’
प्रधानमन्त्री दाहालले गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायोे । एमालेबाट रवि लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो ।
दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन् । तर उनको राहदानी सम्बन्धी महत्वपूर्ण मुद्दाबारे प्रश्नहरु बाँकी नै छन् ।