News

जवाफ दिने ठाउँमा किन अगाडि पर्दैनन बालेन्द्र, स्थानीयसँग भेट्नै मानेनन

जवाफ दिने ठाउँमा किन अगाडि पर्दैनन बालेन्द्र, स्थानीयसँग भेट्नै मानेनन

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय बिरूद्धमा बिरोध गरेका हुन्। 

काठमाडौं महानगरले भूमिगत पार्किङ निर्माणका लागि डीपीआर गराउने तयारी गरिरहेको छ। संरक्षणकर्मीले भूमिगत पार्किङ निर्माण नगर्न दबाब दिनका लागि महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

अभियन्ताले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व  मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका हुन्। टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ। खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन्। बिरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। 

उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताए। उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोपसमेत लगाए। उनले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भए पनि मालिक नभएको बताए।

यसपछि संरक्षणकर्मी र स्थानीयबासीहरू महानगरपालिकामा ज्ञापानपत्र बुझाउन पुगेका थिए। तर महानगरका  मेयर बालेन्द्र साहले स्थानीयबासीहरूसँग भेट्न मानेनन। भूमिगत पार्किङ निर्माणका विरोधमा मेयरलाई ज्ञापानपत्र बुझाउन नपाएपछि स्थानीयबासीहरूले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन्।

डंगोलले भने जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताइन्। उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन्।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ। 
 

विशेष