News

‘मन पग्लियो’ भन्दै देउवासँग नजिक हुने आधार खोज्दै प्रचण्ड, ओलीलाई धक्का !

‘मन पग्लियो’ भन्दै देउवासँग नजिक हुने आधार खोज्दै प्रचण्ड, ओलीलाई धक्का !

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मिडियाका सम्पादकहरूसँगको अनौपचारिक कुराकानी क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ मन पग्लिएको भन्दै कांग्रेससँगको निकटता चुहाए ।

खासमा कांग्रेससँगको गठबन्धन भत्काई एमालेसँग मिलेर प्रधानमन्त्री भएपछि रिसाए होलान भनेका सभापति देउवा नम्र र भलाद्मी भएर प्रस्तुत भएपछि दाहालको मन फेरिएको उनको कुराले स्पष्ट हुन्थ्यो। देउवाले गठबन्धन भत्काए दोष दाहाललाई नदिएर पार्टी नेताहरूलाई समेत यस विषयमा नवोल्न निर्देशन दिइरहेका छन । सरकारलाई विश्वासको मत दिने वेलामा पनि उनले गठबन्धन भत्किएको दोस आफैले लिए ।

‘गठबन्धन भत्किनुमा तपाईंको कुनै दोष छैन, यसमा मेरै कमजोरी हो,’ पुस २६ मा विश्वासको मत लिनुअघि साँझ धुम्बाराही पुगेका दाहालसँग देउवाले भनेका थिए । त्यसपछि दाहालले पनि देउवाको विपक्षमा बोलेका छैनन्।

बरु उनीहरु पुरानो सम्वन्ध कसरी जोड्ने भनेर उपायहरु खोज्न थालेका छन् । प्रधानमन्त्री दाहाल कांग्रेसले विश्वासको मत दिइसकेपछि परिस्थितिमा बदलाब आएको भन्दै राष्ट्रिय सहमतिको कार्डमार्फत गैरएमालेलाई राष्ट्रपति बनाउने प्रयासमा लागेको नेताहरूको भनाइ छ ।

०७२ असोज ३ मा नयाँ संविधान जारीपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा र दाहालले पहिलोपल्ट सत्ता साझेदारी गरेका थिए । देउवा नेतृत्वमा सरकारमा छँदै माओवादीले ०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । त्यसपछि एमाले र माओवादीबीच एकीकरण भई बनेको नेकपा, नेकपाभित्रको शक्तिसंघर्ष, प्रतिनिधिसभा विघटन, नेकपा भंग र एमाले विभाजनले निर्माण गरेको दाहाल–देउवाको सत्ता साझेदारी करिब डेढ वर्षसम्म चल्यो ।

देउवा प्रधानमन्त्री भए पनि दाहालले कुनै पनि बेला असहज महसुस गर्न नपरेको माओवादी नेताहरू नै बताउँछन । दाहालको मागअनुसारै देउवा प्रधानमन्त्री छँदै उच्चस्तरीय संयन्त्रसमेत बनेको माओवादीका एक नेता सम्झिन्छन ।

दाहाल नेतृत्वमा सरकार गठन भएपछि पनि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति बनाइएको छ । संयोजक भएलगत्तै ओलीले संसद् र बाहिर सार्वजनिक मञ्चमा दिएका प्रस्तुतिबाट दाहालले असहज महसुस गर्दै आएका छन्। अर्कोतर्फ गठबन्धन छोडेपछि पनि त्यसमा दोष नदिई देउवाले दाहालको मन जित्ने कोसिस गरिरहेका छन ।

त्यसैले आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन पुनः पूनर्जिवित हुन सक्ने धेरैको अनुमान छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा प्रधानमन्त्रीले भनेजस्तै सहमतिको वातावरण बन्न सक्दा कांग्रेस र माओवादीबीच पुनः सम्बन्ध विस्तारको बाटो खुल्ने बताउँछन । 

कांग्रेसकै अर्का एक नेताका अनुसार सरकार निर्माणमा राष्ट्रपतिले खेल्न सक्ने छिद्रहरू धेरै भएकाले एमाले अध्यक्ष ओलीले अघि सार्ने राष्ट्रपतिलाई स्वीकार गर्न नहुने मनोविज्ञानमा देउवा र दाहाल दुवै छन ।

त्यसैले कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीको पनि सहयोग गरोस भन्ने देउवाको भित्री मनसाय छ। तर माओवादीका कतिपय नेताहरूसँग गैरदलीय कुनै व्यक्तिलाई अघि सार्दा सहमति हुने अवस्था रह्यो भने त्यसका लागि तयार हुनुपर्छ भन्नेसम्मका कुराकानी कांग्रेसमा भएको एक नेता वताउँछन्। 

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भन्ने दाहालको अग्रसरतामा असन्तुष्ट एमाले अध्यक्ष ओलीले कांग्रेस वर्तमान सरकार ढालेर संविधानको धारा ७६ (३) अन्तर्गत आफैं सरकारको नेतृत्व लिने खेलमा लागेको बताउँदै आएका छन । हिजो प्रधानमन्त्री नदिएको पृष्ठभूमिमा फेरि आफ्नो सरकार ढल्ने अवस्था भयो भने कांग्रेसले काँध थाप्नुको साटो आफैं हुन खोज्ने हो कि भन्ने आशंका दाहालमा पनि छ । आशंका हटाउँदै विश्वासको सम्बन्ध बढाउन देउवा आफैं सक्रिय छन । संवादमा भने उपसभापति पूर्णबहादुर खड्का र पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखक जुटिरहेका छन ।

विशेष