News विदेश

पाकिस्तानको पेशावरमा ‘आत्मघाती’ विस्फोट, २८ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा ‘आत्मघाती’ विस्फोट, २८ जनाको मृत्यु

पाकिस्तानी सहर पेशावरमा भएको एक विस्फोटनमा परेर कम्तीमा २८ जना मानिसहरू मारिएका छन्। घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ। 

स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १ः३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो। सुरक्षा अधिकारीहरूले हमलाकारी अघिल्लो लहरमा बसेर आत्मघाती विस्फोट गराएको बताएका छन्।

उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्। अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ। विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन।

तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन्। कुनै समूहले हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।

प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गरेका छन्। एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको ‘इस्लामसँगको कुनै साइनो नहुने’ बताएका छन्। उनले थपेः ‘पूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको छ।’

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो। लेडी रिडिङ अस्पतालका एकजना प्रवक्ताले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै त्यसलाई ‘आपत्कालीन अवस्था’ बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू पुगेका छन्। गत मार्च महिनामा समेत पेशावरको एक सिया मस्जिदमा भएको शक्तिशाली विस्फोटनमा परेर दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो।

राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहरबाट पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ। 
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।

विशेष