News

हिरासत फोडेर ६ जना थुनुवा फरार हुँदा पनि प्रहरी वेखवर

हिरासत फोडेर ६ जना थुनुवा फरार हुँदा पनि प्रहरी वेखवर

धनुषामा प्रहरी हिरासतबाटै ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट उनीहरु फरार भएका हुन् ।

फरार मध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए। उनीहरु हिरासतकक्ष फोडेर गए राति भागेको प्रहरीले जनाएको छ।

गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका डिएसपी प्रदीप क्षेत्रीले बताए। उनका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।

इलाका प्रहरीको भवन पुराने छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । ‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेको हुन’, डिएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’

सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएर हल्ला गरेपछि प्रहरीले जानकारी पाएको डिएसपी क्षेत्रीले बताए । जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले भागेकाहरूको खोजी गरिरहेको उनले बताए।
 

विशेष