News

'राष्ट्रिय सहमति'को बहानामा एमालेलाई राष्ट्रपति नदिने पक्षमा माओवादी!

'राष्ट्रिय सहमति'को बहानामा एमालेलाई राष्ट्रपति नदिने पक्षमा माओवादी!

सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न भएपछि देशको राजनीति अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रित छ। केही दिन अघिसम्म राष्ट्रपति नेकपा एमालेको भागमा परेको चर्चा चलिरहेका वेला अहिले भने राष्ट्रपति कुन दलको पोल्टामा पर्ने हो ? भन्ने अनिश्चित वनेको छ।

कतिपयले आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन पुनः पूनर्जिवित हुन सक्ने अनुमान समेत गर्न थालेका छन। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा प्रधानमन्त्रीले भनेजस्तै सहमतिको वातावरण बन्न सक्दा कांग्रेस र माओवादीबीच पुनः सम्बन्ध विस्तारको बाटो खुल्ने बताउँछन ।  


कांग्रेसकै अर्का एक नेताका अनुसार सरकार निर्माणमा राष्ट्रपतिले खेल्न सक्ने छिद्रहरू धेरै भएकाले एमाले अध्यक्ष ओलीले अघि सार्ने राष्ट्रपतिलाई स्वीकार गर्न नहुने मनोविज्ञानमा देउवा र दाहाल दुवै छन । त्यसैले कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीले पनि सहयोग गरोस भन्ने देउवाको भित्री मनसाय छ।

तर माओवादीका कतिपय नेताहरूसँग गैरदलीय कुनै व्यक्तिलाई अघि सार्दा सहमति हुने अवस्था रह्यो भने त्यसका लागि तयार हुनुपर्छ भन्नेसम्मका कुराकानी कांग्रेसमा भएको एक नेता वताउँछन्। यसैबीच, नेकपा माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि नेकपा एमाले माओवादीसँग थप निरास देखिएको छ।

माओवादी केन्द्र स्थायी कमिटी बैठकमा अधिकांश नेताले राष्ट्रपति निर्वाचनमा एमालेलाई मत दिन नहुने पक्षमा बोलेका छन्। बैठकमा बोल्ने सबैजसो सदस्यहरूले राष्ट्रपति निर्वाचनमा सहमति खोज्नुपर्ने धारणा राखेका छन्।

माओवादी केन्द्रका कुनै पनि नेताले अहिले खुलेर एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्छ भनिरहेको छैन। यसले पनि माओवादीभित्र एमालेलाई राष्ट्रपतिमा समर्थन नगर्ने माहोल बलियो हुँदै गएको देखिन्छ। कतिपय स्थायी समिति सदस्यले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने तर एमालेलाई राष्ट्रपति दिन नहुने तर्कसमेत गरेका थिए। माओवादी केन्द्रका सचिव गणेश साहले राष्ट्रपतिको निर्वाचन सहमतिकै आधारमा हुनु पर्नेमा सबैको जोड रहेको बताए।

पछिल्ला दिनमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले समेत सहमतिका आधारमा राष्ट्रपति चयन भए राम्रो हुने बताउँदै आएका छन्। माओवादी केन्द्रले आफूले खोजेको सहमति के हो भनेर स्पष्ट पारेको छैन।

प्रधानमन्त्रीमा एमालेले प्रचण्डलाई समर्थन गर्ने बेलामै राष्ट्रपति र सभामुख सो दलले पाउने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन्। त्यो मौखिक वा लिखित के सहमति थियो थाहा छैन। सहमति लिखित रूपमै भएको भए अहिलेसम्म त्यो बाहिर आएको छैन।

एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बनिसकेका छन् भने माओवादी केन्द्रको समेत मत पाएर एमाले नेता देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्। राष्ट्रपतिमा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई समर्थन गर्छ वा अरू नै विकल्पमा जान्छ भन्ने सर्वत्र चासो छ। एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुबैले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्।

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक हो। उसले राष्ट्रपति र उपराष्ट्रपतिमा एमाले वा कांग्रेस जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उही उम्मेदवारले जित्ने देखिन्छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले उम्मेदवार बनाएको व्यक्ति राष्ट्रपति बन्नेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले देशको आर्थिक नीति, विदेश नीतिबारे राष्ट्रिय सहमति खोज्नु स्वाभाविक रहेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्याकाल फागुन २९ गते सकिँदैछ। कानुन अनुसार माघ २८ गते भित्र नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने भए पनि संविधान र कानुनका प्रावधनमा देखिएको अन्योलका कारण राष्ट्रपतिको चुनाव फागुनको तेस्रो साता गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।
 

राष्ट्रपति

विशेष