News

गृहमन्त्रालयमा रविको आसक्ती, नपाए सरकार छोड्ने

गृहमन्त्रालयमा रविको आसक्ती, नपाए सरकार छोड्ने

सर्वोच्चले नागरिक्ता वदर गरिदिएपछि सांसद र मन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् ।

चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका लामिछानेको नागरिक्ता शुक्रवार सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो। उनले आईतवारै नयाँ नागरिक्ता लिएका छन् । योसँगै उनले पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् । 

लामिछानेले आइतबार प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ नेपाली नागरिकता प्राप्त गरेपछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किसक्नु भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब सभापतिज्यूले प्रधानमन्त्रीज्यूलाई पुरानै जिम्मेवारीमा फर्काउन भूमिका खेल्नुप¥यो भनेर प्रस्ताव गर्नु भएको छ ।’

उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन सत्ता साझेदार दलले भूमिका खेल्नुपर्ने ती केन्द्रीय सदस्यले जिकिर गरे । उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो ।

लामिछानेलाई दाहाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले  भेटेका थिए । प्रधानमन्त्री दाहाललाई ओलीले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा हुन्छ भन्ने आशयको विचार राखेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री दाहालले भने तत्काल लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन नहुने धारणा राखेको सचिवालयका ती सदस्यले बताए । 

आफ्नो पक्षमा माहौल बनाउन लामिछानेले आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । राति उनी ओलीलाई भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटमा पनि उनले गैरसांसदको रूपमा मन्त्री बनाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ । 

जस्तोसुकै अवस्था आए पनि पुनः उपप्रधानमन्त्रीसहित गृहमा आफू फर्किनुपर्ने अडान लामिछानेले ओलीसामु राखेका थिए । उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा नफर्काए सरकारबाट बाहिरिनेसम्मको चेतावनी सत्ता साझेदार दललाई दिएको बताइएको छ ।  

तर, नागरिकता र पासर्पोटसम्बन्धी गम्भीर विषयमा लामिछाने मुछिएकाले जिम्मेवारीमुक्त हुने बित्तिकै उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्काउँदा बाहिर राम्रो सन्देश नजाने दाहालको बुझाइ छ । 

विशेष