News अपराध सुरक्षा

बलात्कार मुद्दाबाट पछि हटिन निहारिका, जिल्ला अदालतमा अंशमुद्दा दर्ता

बलात्कार मुद्दाबाट पछि हटिन निहारिका, जिल्ला अदालतमा अंशमुद्दा दर्ता

प्रेमीलाई बलात्कार मुद्दामा फसाउन हरसम्भव प्रयास गरेकी सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत एक कदम पछाडि सरेर धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएका छन्। 

सिंहले प्रेमी शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता गरेकी थिईन। प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो । सोनालीले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि हजुरबुवाको निधन भएको कारण तत्कालै विवाह गर्न नसक्ने बताएपछि सोनालीले धनुषा जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । 

धनुषा जिल्ला अदालतले बलात्कारको मुद्दामा शिवराजलाई सफाइ दिएको थियो। त्यसपछि निहारिका उच्च अदालत जनकपुरमा पुनरावेदन लिएर पुगेकी थिइन् । उच्च अदालत जनकपुरमा निहारिका र शिवराज श्रेष्ठको बलात्कार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामै रहेको छ । 

यही अवस्थामा निहारिका आफैँले अंश मुद्दा दर्ता गरेकी छिन् । अदालत श्रोतले उनले नाता कायम गर्न खोजेको जनाएको छ। धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमानले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता गराएकी हुन् ।

निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् । जिल्ला अदालतले एक सातापछिको तारेख दिए पनि निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्ने भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग गरेकी छिन् ।

सोही अनुसार माघ १६ गते सोमबार नै आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् । हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् । 

अंश दाबी गर्दै  मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ । 

जिल्ला अदालतबाट अंशको मुद्दामा मेलमिलाप गरी नाता कायम गर्ने र सोही ब्यहोरा उच्च अदालतमा पेस गर्दै श्रीमान–श्रीमतीको रूपमा बस्ने तयारी रहेको बुझिएको छ ।
 

निहारिका राजपूत

विशेष