News

४ दिनको वैठक बस्दा पनि सरकारमा जाने/नजाने बारेमा नेकपा एस अनिर्णित

४ दिनको वैठक बस्दा पनि सरकारमा जाने/नजाने बारेमा नेकपा एस अनिर्णित

नेकपा एकीकृत समाजवादीको ४ दिने पोलिटब्युरो बैठक मुख्य विषयमा कुनै निर्णय नगरी सकिएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुने विषयमा वैठक अनिर्णित भएको छ।

मंगलबार पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई अधिकार दिएको बताए ।सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ।

केही दिनअघि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ।

एकीकृत समाजवादीभित्र नयाँ सरकारलाई समर्थन गर्नुपर्ने र नगर्ने विषयमा नेताहरूको मतभेद छ। त्यसैले पनि यो विषयमा पार्टीले पर्ख र हेरको नीति लिएको देखिन्छ। ‘सरकारलाई समर्थन गर्नेबारे औपचारिक प्रस्ताव आएको छैन। प्रस्ताव आएमा सत्ता गठबन्धनमा रहेका अन्य दलका भूमिका पनि राम्रोसँग अध्ययन गरेर के गर्ने निर्णय पार्टीले गर्छ,’ खतिवडाले भने।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। दाहाल गत पुस १० मा सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। प्रवक्ता खतिवडाका अनुसार वामपन्थीहरूका बीचमा एकता गर्ने र मोर्चा बनाउन पार्टी सधैं प्रतिबद्ध छ। र नयाँ सरकारका बारेमा पनि अब सचिवालय बैठकले छलफल गरी निर्णय गर्न सक्ने पोलिटब्यूरोले अधिकार दिएको छ।
 

विशेष