News

प्रधानमन्त्रीलाई माधव नेपालको गुनासोः बाँच्न धौधौ भयो

प्रधानमन्त्रीलाई माधव नेपालको गुनासोः बाँच्न धौधौ भयो

नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। मंगलवार बिहान प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

ज्ञापन पत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

त्यसैले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ । एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।

सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देशको आर्थिक अवस्था नाजुक हुँदै गएको, मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको र गत मंसिरसम्मको तथ्यांक अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको पार्टीले ज्ञापन पत्रमा उल्लेख गरेको छ।

आम जनतामा निराशा व्याप्त रहेको र राजनीति र राजनीतिक संस्थाहरूप्रति नै आम जनतामा एकखाले वितृष्णा सिर्जना हुँदै गइरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ,  ‘बैंक ब्याज चर्को भएका कारणले ऋणलिएर कारोवार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी हुने अवस्थामा पुगेको छ । बैंक तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिकजसो किसान तथा साना र मझौला ब्यवसायीहरूले आत्महत्या गरिरहेका छन् । ठूला व्यवसायीहरु पनि गंभीर संकटतर्फ उन्मुख भएका छन् । देशमा गरिखाने वातावरण नभएका कारणले युवाहरुको विदेश पलायन तीब्र भैरहेको छ । दैनिक उपभोग्य सामानको मूल्यमा अत्यधिक बृद्धि हुनुका कारणले आम जनजीवन कष्टकर भएको छ । न्युन आयसमूहका श्रमिक वर्गका मानिस बाँच्नै मुश्किल भएको छ । मुद्रा स्फिति झण्डै बाहू प्रतिशत (१२% ) पुगेको छ । यसले जनजीवनमा व्यापक असन्तुष्टि सिर्जना भएको छ।’

विशेष